मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम


उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको हो ।

सामागाउँका स्थानीय दिजेन लामाले जानकारी दिएअनुसार पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको छ ।

‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ, हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ’, लामाले भनेका छन् ।

नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो’, लामाले भन्नुभयो, ‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुऱ्याएको जानकारी आएको एसपी पाठकले बताएका छन् । प्रहरीको टोली घटनास्थल पुगिसकेको र अहिले तत्काल थप क्षति हुने अवस्था नदेखिएको उनको भनाइ छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको जानकारी दिए ।

ज्ञातव्य छ, वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

file photo