नेपाल स्रष्टा समाजको सम्मान र परिचर्चा

नेपाल स्रष्टा समाजको सम्मान र परिचर्चा


  • प्रेम ओझा, विराटनगर

नेपाल स्रष्टा समाजले विराटनगरमा स्रष्टा सम्मान र साहित्य लेखनसम्बन्धी परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । पहिलो कार्यक्रममा विराटनगर-३ निवासी ८६ वर्षीय लता गिरीलाई १५ हजार सहितको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान उनकै निवासमा प्रदान गरियो ।

समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, महासचिव देविका तिमल्सेना, पाज्ञ विवश पोखरेल, समाजका प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली ले नगद, दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरे ।

सो अवसरमा प्राज्ञ पोखरेले नारी स्रष्टा गिरीको सामाजिक तथा साहित्यिक योगदानको चर्चा गरेका थिए । गिरीका तीन वटा भजन संग्रह र फुटकर गीत तथा कविता प्रकाशित छन् ।

परिचर्चा कार्यक्रम

अर्काे छुट्टै कार्यक्रममा समाजको कोशी प्रदेश समितिले समसामयिक साहित्य लेखन विषयमा परिचर्चा र रचना वाचनको आयोजना गऱ्यो । सो अवसरमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपालमा पठन संस्कृतिको विकासमा देश विदेशको लगानी भएपनि अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको टिप्पणी गरे । प्राज्ञ विवश पोखरेलले पठन संस्कृतिको विकासका लागि स्रष्टा स्वयं पनि निरन्तर सक्रिय हुनु पर्ने वताए । सो कार्यक्रममा ववरसिंह-देवकुमारी थापा पुरस्कार गुठीका महासचिव दिनेश श्रेष्ठ र प्राडा हरिहर भण्डारीले साहित्य लेखनको महत्व वारे धारणा राखेका थिए ।

समाजको प्रदेश समिति घोषणा

परिचर्चा कार्यक्रमकै अवसरमा समाजले कृष्णप्रसाद भण्डारी मार्सेली को संयोजकत्वमा समाजको कोशी प्रदेश समिति गठन गरेको छ । समाजका महासचिव देविका तिमल्सेनाले समितिको नाम धोषणा गरेकी हुन् । समितिको सहसंयोजकमा वावुराम पोखरेल मोरङ, सचिवमा लक्ष्मी पोखरेल मोरङ, कोषाध्यक्षमा प्रेम ओझा पाँचथर, सदस्यहरुमा शारदा भट्टराई भोजपुर, मिश्रा गुरुङ संखुवासभा र खगिन्द्रा खसी झापा रहेका छन् ।

दर्जन स्रष्टाको रचना वाचन

सो अवसरमा भरत बर्बरिक, मञ्जु घिमिरे दाहाल, भवानी पोखरेल, स्वयम्भूनाथ कार्की, लक्ष्मी रायमाझी, प्रमोद प्रतीक भट्टराई, पुस्पा सायरा, भक्ति दाहाल बिस्फोट, रोहिणी रसिक, अच्युत पौडेल, सरला चापागाई, प्रेम ओझा, कृष्ण भण्डारी मार्सेलीले कविता, गजल, लघुकथा वाचन गरेका थिए । लक्ष्मी पोखरेलले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता समाजका कोशी प्रदेश संयोजक कृष्ण भण्डारी मार्सेलीले गरेका थिए ।