उपनिर्वाचन इलाम-२ : नेम्वाङ र खड्का तीव्र प्रतिस्पर्धामा

उपनिर्वाचन इलाम-२ : नेम्वाङ र खड्का तीव्र प्रतिस्पर्धामा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

तीन दिनपछि अर्थात् वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । तेस्रो र चौथो स्थानका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी डेकेन्द्र थेगिमबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनमा १ सय १४ मतले पराजित नेपाली कांग्रेसका उम्मेद्वार खड्कालाई यस पटक पनि विजयी बन्न धौ-धौ परिरहेको स्थानीयहरुको भनाइ छ । पार्टीका वडादेखि प्रदेश समितिसम्मले भेषराज आचार्यको नाम सिफारिस गरेका थिए । तर, देउवानिकट खड्काले टिकट हत्याउन सफल भए । जसकै कारण खड्कालाई अन्तरघातको चिन्ता अधिक छ । र, विभिन्न गुट तथा उपगुट मिलाउन पनि समस्या भइरहेको कांग्रेसीहरु नै बताउन थालेका छन् । १ लाख १५ हजारबढी मतदाता रहेको यो क्षेत्रमा ४२ वटा वडा छन् ।

आचार्य खुलेर निर्वाचन प्रचारमा लागेका छैनन् । केही दिनदेखि चुनावी सभाहरुमा देखिनथालेका आचार्य ठूलो पीडाबोधमा रहेको उनका निकटजनको बुझाइ छ । इमान्दार छविका भनेर चिनिने आचार्यले चार दशक लामो राजनीतिक यात्रामा अवसर नपाएपछि उनी चिन्तित बन्नु सामान्य रहेको धेरै कांग्रेसीको धारणा बाहिर आउन थालेको छ ।

निर्माण व्यवसायी उमेद्वार खड्काले लिएका केही ठेक्काका योजना अझै अलपत्र परेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । इलामबाट छोटो दूरीमा झापा जोड्ने भन्ज्याङ-बेलासे सडक निर्माण पूरा नगरेको इलामबासीको आरोप छ । साथै योजनामा काम गरेका मजदूरहरुले तलव पनि नपाएको गुनासा निर्वाचन क्षेत्रमा सुनिने गरेको कांग्रेसकै कार्यकर्ताहरु बताउँछन् ।

एमाले नेता स्वर्गीय सुभाषचन्द्र नेम्वाङका छोरा सुहाङको शालिन व्यवहार, सुभाषप्रतिको आकर्षणले सहानुभूतिको मत र दरविलो एमालेको संगठनका कारण एमालेका उमेद्वार सुहाङप्रति धेरैको क्रेज देखिन्छ । ‘संगठन दरबिलो भएका कारण एमालेका मतदाताले पार्टी छोडेर कममात्र हिडेका र नयाँ दलप्रति उनीहरुको राम्रो आकर्षण देखिएको छैन, जसले सुहाङलाई निर्वाचन जित्न समस्या हुन्न ।’ राजनीतिमा चासो राख्ने एक युवाले घटना र विचारलाई भने । समग्रमा सुहाङ र खड्काको बीचमा ५ देखि ७ प्रतिशत मतको अन्तर हुने आंकलन धेरैको छ ।

स्वतन्त्र पार्टीबाट उमेद्वार बनेका र पत्रकारिता तथा माओवादी पृष्ठभूमिका मिलन लिम्बूलाई पनि राम्रै मत खस्ने देखिन्छ । गत निर्वाचनमा यो क्षेत्रमा १ हजार ३ सय ८० मत रास्वपाका उमेद्वारले ल्याएका थिए । अहिले यो मत बढेर १० हजारको हाराहारीमा पुग्न सक्ने देखिन्छ । जे होस्, उनी तेस्रो स्थानमा आउने धेरैको अनुमान छ ।

पहिचानवादीको तर्फबाट र धरानका मेयर हर्क साम्पाङका उमेद्वार भनेर चिनिने डेकेन्द्र थेगिम विगतको पृष्ठभूमिका कारण खस आर्यको मत पाउने अवस्थामा छैनन् । कोशी प्रदेशको नाम परिवर्तनको माग राख्दै पहिचान पक्षबाट भइरहेका आन्दोलन र खस तथा आर्य समुदायमाथि गरिएका व्यवहारका कारण उनलाई त्यस्तो धेरै मत खस्ने देखिन्न । ‘लामो नाक काटिन्छ…, जस्ता उत्तेजित भाषण गर्दै हिँड्ने समुदायको तर्फबाट उम्मेद्वार बनेको भन्दै उनीप्रति धेरै आकर्षण छैन ।

लिम्बूसमेतका समुदाय यो पहिचानको मुद्धामा सक्रिय छन् । सुहाङ, मिलन र डेकेन्द्र तीन जना नै लिम्बू समुदायबाट उमेद्वार रहेकोले थेगिमको पक्षमा त्यस्तो धेरै मत जाने देखिन्न । अन्ततः मिलन र थेगिम तेस्रो र चौथो हुने देखिन्छ ।