०३६ सालमा बहुदल जिताउने हिरालाल धेरै राजश्व उठाउने वडाअध्यक्ष

०३६ सालमा बहुदल जिताउने हिरालाल धेरै राजश्व उठाउने वडाअध्यक्ष


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

२०३६ सालमा भएको निर्दल (पञ्चायत) र बहुदल (प्रजातान्त्रवादी) पक्षबीचको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ मा निर्दल (पञ्चायत)लाई पराजित गरेर बहुदलको बढी मत आयो । जसको मुख्य कारक थिए हालको वडा ११ कै वडाअध्यक्ष ७६ वर्षीय हिरालाल तण्डुकार । २००७ वैशाख १४ गते काठमाडौंको बबरमहल लक्ष्मीदास र हर्षमायाका ११ मध्ये उनी १०औं सन्तानका रुपमा जन्मिएका हिरालालले तीन पटक वडाअध्यक्षमा निर्वाचित भइसकेका छन् ।

बबरमहलकै गुहेश्वरी स्कुलमा कक्षा ८ सम्म पढे । खेती किसानी गर्ने उनले दिउँसो पढ्न पाएनन् । २०२५ सालमा नयाँ शिक्षा नीति आएपछि रात्रीकालीन विद्यालय पनि खुले । अनि विजय मेमोरियल स्कुलमा राति पढ्न थाले । त्यहाँ कक्षा १० सम्म पढेका उनी हक्की स्वभावका थिए । २०३५ मा साझा बसको कण्डक्टर भए । त्यहाँ एक वर्ष काम गरेपछि छोडेर पाटन औद्योगिक क्षेत्रमा काम थाले । त्यहाँ उनी मजदूरको नेता बने । २०३६ को आन्दोलनमा पक्राउ परेर महेन्द्र पुलिस क्लवमा ३६ दिन हिरासतमा बसे ।

त्यहाँबाट छुटेपछि समाज सेवातर्फ आकर्षित भए । आन्दोलनको समयमा उनलाई नेपाली कांग्रेसका नेताहरुले चिनेका रहेछन् । अनि कांग्रेसको राजनीतिमा होमिए । २०४३ मा वडाअध्यक्ष पदमा ६५ मतले पराजित भए । २०४९ मा वडाअध्यक्ष निर्वाचित भए । २०५४ मा पराजित भए । त्यसपछि भएका ०७४ र ०७९ का दुवै निर्वाचनमा उनी विजयी बने ।

यो वडा ११ जनसंख्याको हिसावमा सानो वडा मानिन्छ । यहाँ करिव १३ हजार बासिन्दा छन् । मतदाता भने ५ हजार ७ सयमात्र । भोटेबहाल, त्रिपुरेश्वर, बागदरबार, माइतीघर, थापाथली, बबरमहल, सिंहदरबार, भद्रकाली यसै वडामा पर्छन् । यो वडाले वर्षमा १९ देखि २२ करोड रुपैयाँसम्म राजश्व संकलन गर्दै आएको छ । यो महानरपालिकाका वडामा धेरै राजश्व संकलन गर्ने वडा पर्छ ।

यो वडा अन्य वडाभन्दा सरसफाइमा राम्रो छ । वडाअध्यक्ष तण्डुकारका अनुसार यहाँ कुनै पनि समयमा फोहोरमैला नउठ्ने भन्ने छैन । वडामा प्राप्त हुने बजेटले ढल सफाइ, बाटो मर्मत, बस्तीमा विद्युतीय बत्ति विस्तार गरिँदै आएको छ । वर्षमा महानगरपालिकाले १० करोड बजेट उपलब्ध गराउँछ । महानगरले ठूला, मझौला र साना वडाको वर्गीकरण गरेर १०, ५ र ३ करोड रुपैयाँका दरले अनुदान दिन्छ । जनसंख्याका हिसावमा सानो वडा भएपनि राजश्व संकलनमा अग्रणी भएकोले यो वडाले १० करोड रुपैयाँ वर्षेनि अनुदान पाउने गरेको छ ।

महानगरले थप १० करोड अनुदान पनि दिने भएको छ । गौरवको योजना भनेर नमुना टोल बनाउने र हरियाली वृद्धिका लागि रकम प्राप्त भए पनि नमुना टोल बनाउन एक टोलमा ४ सय घर हुनुपर्ने बाध्यतात्मक व्यवस्था छ । यो वडामा रहेका एक टोलमा ४ सय घर नभएर त्यो गर्न समस्या भइरहेको तर हरियाली विस्तार, विरुवा रोपणदेखि पार्कहरु बनाउने कामहरु भइरहेको उनले घटना र विचारलाई बताए ।