मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु


विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका-८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो ।

यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों-८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट सङ्कलन सुरु हुने जानकारी दिए । उनका अनुसार मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय बमोजिम सङ्कलकलाई अनुमति दिइएको उनले बताए ।

उनले भने, ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ, सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ।’

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए । उनले भने, ‘सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएका छौँ, विगतमा भएको जस्तो घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।’ यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उनको भनाइ छ ।

उनले पहिले जस्तै नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । सोही अनुरुप बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन ।

एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताए । उनले भने, ‘सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार र पिसाङमा पनि स्थानीयलाई मात्र यार्सागुम्बा खोजीका लागि अनुमति दिने निर्णय भएको छ ।’

सङ्कलकको सङ्ख्या कम गर्ने र कम नै सङ्कलन गर्ने निर्णय गरिएको भन्दै उनले जिल्लाका तीन स्थानका खर्कमा यार्सागुम्बा सङ्कलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको जानकारी दिए । स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । उनले भने ‘यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ, राज्यबाट शुल्क लिने, कर लगाउने भनेको कुरा त अधिकार प्राप्त निकायले गर्नुपर्ने हो, तर कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा उठाउनुपर्छ, यो जल्दोबल्दो विषय भएकाले अहिलेलाई साविकमा जे भएको छ, त्यही किसिमले जान उपयुक्त हुन्छ होला हाम्रो बुझाइ छ ।’

file photo