भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । अहिले जसरी बजार सञ्चालन भइरहेको छ, त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उनले त्यसलाई व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिएकी हुन् ।

चालु आर्थिक वर्षमा चार करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई ‘सेमी पर्मानेन्ट’ बनाउने प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिइन् । भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकाले पुनःनिर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि मन्त्री चौधरीले परिषद्का कर्मचारीको ध्यानाकर्षण गराइन् ।

भृकुटीमण्डपको पार्क, उद्यानलगायतका क्षेत्रको व्यवस्थापन गर्नसमेत निर्देशन दिँदै भाडा नतिर्नेसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउनुपर्नेमा जोड दिँदै उनले भनिन्- ‘सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेलाई कसरी उठाउने भन्ने विषयमा योजना बनाएर काम गर्नुस् ।’