चपलीहाइटको भेलमा सिनेकर्मी

चपलीहाइटको भेलमा सिनेकर्मी


कसैले केही नयाँ काम गर्नै हुन्न, सबै त्यतैतिर लाग्ने गर्छन् । आफूमा नयाँ काम र सोच नयाँ नभएपछि अरूकै फेरो समातेर त्यतैतिर लाग्ने पुरानो रोग हो नेपाली सिनेकर्मीहरूको । यसपटक फेरि यसरोगले नेपाली सिनेकर्मीहरूलाई छोएको छ ।
एक समय तुलसी घिमिरेको चलचित्र दर्पण छायाले अत्यधिक सफलता हात पारेपछि सबै सिनेकर्मी त्यसकै पछि लागे अनि सबै दर्पण छायाजस्तै चलचित्र बनाउनुपर्छ भन्दै लगानी गर्न थाले । तर, परिणाम गलत निस्कियो र दर्पण छायाजस्तै दाम कमाउने उनीहरूको सपना चकनाचुर भयो । अहिले फेरि यस्तै हुन थालेको छ र दुई चलचित्र लुट अनि चपलीहाइटको सफलतासँगै यस्तै फिल्म बनाउनुपर्दो रहेछ भनेर यी दुई फिल्मको पछि लागेका छन् चलचित्रकर्मीहरू । उनीहरूले बुझेका छैनन् कि लुट र चपलीहाइट एउटा भेल हो । भेल सधैंभरि आउँदैन । तर, चलचित्रकर्मीहरूले कथा मात्र होइन कि नाम पनि यस्तै राख्न थालेका छन् । लास्ट किस, अप्रिल फूल, माइ हार्ट आदि आदि । नाम लिनसमेत गाह्रो र असजिलो हुने फिल्मको नाम राखेर निर्माताहरू कस्तो सिनेमा, बजारमा अनि दर्शकहरूको खोजी गरिरहेका छन् ? बुझ्न सकिएको छैन । अर्को कुरा यस्तै फिल्म चल्छ र दर्शकहरू पनि यस्तै फिल्मले तान्न सक्छ भन्ने ठोकुवा गर्न सकेमा वा निश्चित भएमा सबै निर्माता बनिहाल्थे नि ? तर यो कुरा उनीहरूको दिमागमा पस्न सकिरहेको छैन ।
लुट र चपलीहाइटको विषय नौलो भयो अनि एउटै खाना खाइरहेको समयमा फरक स्वाद भएको खाना खाँदा त्यो अवश्य पनि मीठो हुन्छ । लुट र चपलीहाइट पनि यस्तै भएको हो तर सधैंभरि यस्तै फरक स्वादको बाहुल्य भने अवश्य पनि हुने छैन । यो कुरा बुझ्नु आवश्यक छ । अर्को कुरा, यी दुई चलचित्र कलाकारहरूले गर्दा चलेको पनि होइन र उनीहरूलाई अहिले नै ‘स्टार’ भनिहाल्नु पनि नहोला किनकि ‘स्टार’ भनेको उसको नामबाट फिल्म चल्ने अवस्था आउनुपर्छ ।
यदि लुट र चपलीहाइटका कलाकारहरू स्टार र हिट थिए भने सिनेमा चलेको चर्चा र सिनेमाले कमाएको नाम अनि दामअनुरूप त उनीहरूलाई यतिबेला भ्याइनभ्याई हुनुपर्ने थियो, तर त्यसो भएको छैन । अझै पनि राजेश हमाल, विराज भट्ट, राजवल्लव, आर्यन र जीवन लुइँटेल नै निर्माताको खोजीमा परेका छन् ।
त्यसैले खरायोको स्टाइलले नभएर गन्तव्यमा पुग्न कछुवाकै चालमा हिँड्दा पुगिन्छ भन्न सकिने अवस्था छ । दुईवटा चलचित्रले बजार तताएको र नेपाली चलचित्र हेर्ने नयाँ प्रकृतिका दर्शकहरूको माहोल खडा गरेको कुरालाई नकार्न भने सकिँदैन । तर, यसो भन्दैमा मूलधारका दर्शक, चलचित्र अनि परिवेशलाई बिर्सेर सबै लुट र चपलीहाइट नै बन्ने हो भने नेपाली चलचित्रको बजार र भविष्य सुखद होला भन्न सकिने अवस्था भने छैन ।

‘भेरी बेस्ट अफ विवेक’को तयारी
नेपाली सङ्गीतमा पपको नयाँ सुवास छर्दै चर्चित पपगायक विवेक पोखरेल फेरि श्रोतामाझ आउने भएका छन् । केही वर्षको अन्तरालपछि विवेकको ‘भेरी बेस्ट अफ विवेक’ एल्बम बजारमा आउने भएको छ । ०४६ सालपछिको कालखण्डमा मुलुकमा पपसङ्गीतको बहार आएको थियो । त्यसबेला पप श्रोतामाझ निकै चर्चित रहेका गायक विवेक अहिले आफ्नो दोस्रो सोलो एल्बमको तयारी गरिरहेका छन् । ‘खोलाको त्यो सङ्लो पानी’ बोलको गीतबाट चर्चामा आएका विवेक ०५३ सालमा भृकुटीमण्डपमा आयोजित दशैं महोत्सवमा गायनतर्फ प्रथम भएका थिए ।
अर्का गायक आश्विन दाहालसँग मिलेर ‘एबीसी’ नामक एल्बम निकालेका विवेकको स्वरमा रहेको ‘सुन चरी, चरी नउड त्यसरी’ बोलको गीत अहिले पनि श्रोताको स्मरणमा ताजै छ । विवेकले पछि मोहित मुनालसँग मिलेर ‘रिचार्ज’ एल्बम बजारमा ल्याए । यस एल्बमको ‘हिउँचुलीमा हिमखानी तमाम छ’ बोलको गीत पनि निकै सफल रह्यो । ०६० सालमा आफ्नो पहिलो एल्बम ‘युरेका’ निकालेपछि विवेक पप गायनमा स्थापित नै भए । साधना कला केन्द्रबाट गितार र कालिडेस्कोप एकेडेमीबाट किबोर्ड बादन सिकेका विवेकले गुरु वासुदेव मुनालबाट सङ्गीतको ज्ञान लिएका हुन् । नारायणगोपाल र निमा रुम्बाबाट प्रभावित विवेकले हालसम्म सयभन्दा बढी गीत गाइसकेका छन् । ‘अब म पप र आधुनिकको फ्युजन गीत निकाल्दै छु,’ विवेकले भने, ‘फेरि पपसङ्गीतको लहर ल्याउने तयारीमा छु । पपका श्रोता नयाँ स्वाद खोजिरहेका छन् ।’

माल्भिका बेहुली बन्दै
पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफूलाई धेरै भूमिकामा उभ्याइसकेकी छिन् । पर्दामा धेरै विधा र चरित्रमा पनि देखापरिसकेकी माल्भिका यतिबेला आफ्नो जीवनको महत्वपूर्ण मोडमा आइपुगेकी छिन् । के हो त माल्भिकाको महत्वपूर्ण घडी ? उनी भन्छिन्, ‘अब म चाँडै वैवाहिक बन्धनमा बाँधिँदै छु ।’
माल्भिकाका अनुसार उनी वैशाख १३ गते वैवाहिक बन्धनमा बाँधिने निश्चित भइसकेको छ । मिस नेपालजस्ती सुन्दरी अनि यी क्षमतावान माल्भिकाले छानेको भावी राजकुमार भने उनकै पे्रमी हुन् । उनी हुन्– रियाज श्रेष्ठ । अन्ततः यी दुईको अफेयरबारे मिडियामा आएको कुरा पनि सत्य सावित नै भयो । भव्य पार्टी र समारोहबीच यी दुईको विवाह हुने तयारी भएको छ भने माल्भिका र रियाजबीच भने पहिलोपटक अमेरिकामा नै भेट भएको थियो । ‘अरू कुराहरू भने विवाहपछि नै भनौँला,’ मुस्कुराउँदै माल्भिकाले जवाफ दिइन् ।