ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी


ललितपुर मेयर कप राष्ट्रिय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो । जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ ।

सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गऱ्यो । एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाइन् ।

बलिङतर्फ सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले एक-एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन् । कविता जोशीले अविजित २९ तथा रुवि पोदारले २९ रन बनाइन् ।

बलिङतर्फ एपिएफका रेखा रावल र इन्दु बर्माले एक एक विकेट लिए । पाँच टोली सहभागी उक्त प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।