नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम


गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका-४ तनहुँमा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ ।

धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले जानकारी दिएका छन् । कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ भएको छ ।

‘संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ’, अध्यक्ष श्रेष्ठको भनाइ छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा, संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक रहेको धारणा राखे ।

तस्बिर : रासस