गुजरात आगलागी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

गुजरात आगलागी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो


भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

गुजरातस्थित राजकोट जिल्लाको गो-कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको हो । उक्त घटनामा परेकाहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको राजकोटका प्रहरी आयुक्त राजु भार्गवले जनाएका छन् ।

उनले भनेका छन्, ‘गेमिङ जोन युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी उनका विरुद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।’

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुननसकेको बताइएको छ ।

टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले उल्लेख गरेका छन् ।