दाङमा भारतको सहयोगमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

दाङमा भारतको सहयोगमा निर्मित दुई विद्यालय भवनको उद्घाटन


भारत सरकारको १ करोड ७६ लाख आर्थिक सहयोगमा दाङको लमही नगरपालिकामा निर्माण गरिएको बाल जनता माध्यमिक विद्यालयकोे नयाँ भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास (काठमाडौं)का प्रथम सचिव अविनाश कुमार सिंहले नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै, ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको २ करोड लाख आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उपमहानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको नयाँ भवनको पनि शनिबार नै उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुईतले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

त्यसैगरी, भारत सरकारको आर्थिक सहयोग दाङको घोराही उप-महानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुईतले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको जनाइएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको सम्बद्ध पक्षले जानकारी दिएको छ ।

भवन उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै लुम्बिनी प्रदेशका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप-महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दाङस्थित बाल जनता माध्यमिक विद्यालय र पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले स्थानीय क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुग्ने र अध्ययन-अध्यापनका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा लिइएको छ ।

ज्ञातव्य छ, सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र, ४ सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन्, जसमा ६ वटा परियोजना दाङमै छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १९ वटा एम्बुलेन्स र ५वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ ।