धसिङ्गरे गणतन्त्र र हामी !

धसिङ्गरे गणतन्त्र र हामी !


न हामी जनता सहन्छौं न त नेता नै
हरेकमा अपहत्ते छ स्वार्थपूर्तिको लागि
देश भनेको माटो, हावा, पानी
सबै भूगोल त हो परिभाषित छ
यत्रतत्र सर्वत्र विश्वमा ।
परापूर्वकालदेखि
मेरो माटो अतिक्रमित छ
जनता दलदलमा भासिएर
खेताला उफ्रिएर के हुन्छ र ?

दानापानी लाउकेका पेटमा
घरबाहिरको परेपछि
दाताको गुणगानमा
मस्त छन् निरन्तर निरन्तर ।
माटो खुल्ला छ,
पानी खुल्ला छ जस्का लागि पनि
हावा त जताको बग्छ
त्यसै त्यसै लाउकेहरु मुञ्टो उठाएर
मच्चिएका मच्चिएकै छन्
त जे जे गुरु सोही सोही चेलाको ध्याउन्नमा ।

सडकभरी गणतन्त्र र सङ्घीयताको फल
पीडित नागरिकहरु कुँदिरहेछन् रुँदै-कराउँदै
सामन्तवादको जड रोप्ने लाउकेहरु निरन्तर
गरीवमारा नीति ल्याइरहेछन् किन किन ?

धेरै महाराजाहरुको जन्म भएको छ
प्रजातन्त्रको वरदान
अब त टुक्राटुक्री प्रदेशभर
शासक र शासित छन्
जे-जे बराजु सोही सोही नाति-नातिना
यस्तै छ धसिङ्गरे गणतन्त्र र विखण्डनको बिऊ !

सङ्घीयताका तरमाराहरुको नियतमा नित्य
आफू बन्नुछ व्यवसाय गरेर लाजनीतिको सधैं
शासितको जमात बढाउँदै शोषणको पराकाष्ठामा
जय गणतन्त्र दिवस… अर्को क्रान्ति छिट्टै आउँदैछ !

  • काठमाडौं