दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन


भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो । त्यहाँको मौसम विभागले जनाएअनुसार तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली शहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमानका साथ मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा गर्मी याममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ ।

‘पानीको अभाव’

नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् । भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेका छन् ।

‘पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं’, आतिशीको भनाइ छ- ‘यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पुऱ्याइनेछ ।

मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् ।

राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

पश्चिम बङ्गाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बङ्गलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ । बङ्गलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ ।