युवापुस्ताको प्रेममा आधारित ‘लन्डन टु पेरिस’

युवापुस्ताको प्रेममा आधारित ‘लन्डन टु पेरिस’


युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको छ ।

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक घनश्याम लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए ।

‘यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो । सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ, हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यसपटक पहिलेभन्दा अझ धेरै मिहेनत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ’- निर्देशक लामिछानेले भनेका छन् ।

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ । युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने लेखक प्रदीप भारद्वाजले बताए । उनले भने, ‘हामीले यसमा अपत्यारिलो लाग्ने दृश्यलाई जानेर नै हटाएका छौँ । चलचित्र कल्पनासँगै वास्तविकतासँग पनि नजिक हुनुपर्छ भन्ने सिद्धान्तमा रहेर यसको पटकथा तयार गरेको हुँ । यसमा अहिले युवापुस्तामा देखिने प्रेम र त्यसको समस्या छ ।’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको उल्लेख गर्दै भनिन्- ‘यो हाम्रो पुस्ताको प्रेम कथा हो । मलाई प्रस्ताव आएपछि कथा पढ्दा कथा देखेको र पात्रसँग जोडिएको महसुस गरे । पात्र प्रवासी नेपाली भएकाले पहिरन र लवजमा धेरै मेहनत गर्न परेन । यसको केही दृश्य वा थोरै कथा मेरो जीवनसँग पनि मेल खान्छ ।’

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन् भने यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत (डेब्यु) गर्दैछन् ।