प्रष्ट वक्ता सुखी भवेत् !

प्रष्ट वक्ता सुखी भवेत् !


लामकिरोलाई दुध प्याए नि बिख ओकल्छ । तथाकथित सकारी पंडित्याइँ छाँट्छ अनि थच्चिरहन्छ पाहा झैं निकृष्ट खाल्टोमा । बबुरोलाई के थाहा ? नकार नकार सकार हुन्छ भन्ने ?! क्रमवेलको गणतान्त्रिक कर्तुत नउप्काएको भए म्याग्नाकार्टाले नैरन्तर्य पाउँथ्यो र ? दिदेरो, रुसो र भोल्टेयरले लुईहरूको आन्द्राभुँडी नदुहेको भए फ्रान्सेली राज्यक्रान्ति हुन्थ्यो र ? मुर्ति, सालिक, शिलालेख र पुस्तकहरू मासेर इतिहास मेटाउन खोज्ने डाम्नाहरूको कमी छैन है ।

इतिहास मेटिन्न- चेतना भया ! जोसेफ गोयबल्सका चम्चाहरू यत्रतत्र सर्वत्र । आधुनिक दुर्योधनहरू अधिकार खोस्दो , दुशासनहरू स्त्रीको इज्जत लुट्दो र शकुनीहरू माखेसाङ्लोमा फँसाउँदो । कुरा गरि के साध्य ?

दलीय कुकर्मको ( ?! ) उपहार- महँगी, भ्रष्टाचार, अत्याचार, अनाचार, दुराचार, पापाचार, अराजकता, अक्षुण्णविहिनता र अराष्ट्रियता । ठुलालाई चइन गरीबलाई अइनले राजनीतिक वितृष्णा चुलिंदो; कानुनी राज्य / सुशासन उपहाँसिंदो । चाकडी/ चाप्लुसी/दलाली मौलाउँदो । मौलिक शैक्षिक पद्धति ध्वस्त । क्वाँटे नीतिको हालीमुहाली । बुद्ध भारतमा जन्मेको भन्ने पोस्तक शिक्षण ।

भगवान महावीर र सन्दुकादिहरूलाई न उठी सुख न बसी सुख पारेका छन् कुमान्छेहरूले । यहाँ आरोप/प्रत्यारोपको खेती सस्तो । अम्रिकामा पढे भन्दैमा यी महोदयहरूलाई डाढेहरूले सिआए एजेन्टको बिल्ला भिराउन मिल्ला र ? गतिछाडाहरूले नेपाल मातालाई विवेकशून्य तुल्याउँदा । यी असतीहरूको मुखमा किरा परोस् । गलत परिपाटीको अथ मुलुक टुक्र्याउँदो । स्वतन्त्रताको नाऊँमा बुङ्गो हिड्ने स्वतन्त्रता चाहिन्न । सीमाहीन स्वतन्त्रता – छाडातन्त्र । सीमाबद्ध स्वतन्त्रताको खरखाँचो । प्रेमर्षि, पराजुली, सिंखडा, गाम्नाङे र गजुरेलादिहरूको घोचक व्यङ्ग्य नेता भनाउँदाहरू सजिलै पचाउँदो । कस्तो आश्चर्य ?! 

राजा भन्या त हरिश्चन्द्र जस्तो हुनुपरो न कि नहुष जस्तो । पीत मिडिया कालो सेतो/सेतो कालो बनाउँदो । अल्प-पठित नेतो पठित राजनेतोसित हीनताबोधिंदो । सन्धि/सम्झौतामा औंठा छाप ठोक्दो । प्रमुख प्रमुख जस्तो हुनुपरो नि । पारदर्शिता , कर्तव्यनिष्ठता , दायित्वबोध ,समयनिष्ठता र नेतृत्व जस्ता गुणहरूले लबालब हुनुपर्ने तर अन्यथा भएको छ । देशले के दियो भन्दा नि मैले देशको निम्ति के गर्ने भन्ने सोच हुनुपरो ।

एकया द्वे विनिश्रिच्त्य त्रींश्रच्तुभिर्वशे कुरु ।

पञ्च जित्वा विदित्वा षट् सप्त हित्वा सुखी भव । १ – ४९ ।

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन: ।

काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत । १ – ७१ ।

विदुरजी भन्नुहुन्छ, ” एकले ( बुद्धि ) दुईलाई ( कर्तव्य/अकर्तव्य ) निश्चित गर्दै चारले ( साम, दाम, दण्ड, भेद ) तीनलाई ( शत्रु/मित्रु/उदासीनता ) वश गर्नुपर्छ । पाँचलाई ( इन्द्रिय ) जितेर छको ( सन्धि/विग्रह/यान/आसन/द्वैधीभाव/समाश्रयरूप ) गुण चिन्दै सातलाई (परस्त्री/जुवा/मृगतृष्णा/रक्सी/कठोर वचन/दण्डको निर्दयीता/अन्यायद्वारा धन उपार्जन ) त्याग्नाले मनुष्य सुखी हुन्छ । काम , क्रोध र लोभले आत्माको विनाश गर्ने भएकोले यिनीहरूलाई नरकको तीन ढोका भनिन्छ । यिनीहरूलाई त्यागेमा जीवन सुखमय हुन्छ ।

सर्पको खुट्टो सर्पले देख्छ । तैं चुप मैं चुप, भागशान्ति जय नेपाल । इमान्दारिता/दण्डनीयता गायब , कसलाई के को डर ? सत्य कुरो बोल्दा र सभ्य व्यवहार गर्दा वैरीहरूको बढोत्तरी । आफू ठिक हुनुपर्छ , एक्लिए नि फरक पर्दैन । रण्डीबाजी नगर्ने, भ्रष्टाचार नगर्ने, जाँडरक्सी नपिउने र स्वधर्म अंगाल्ने मनुष्यले शत्रु कमाउँछ किनकी यो कलिजुग हो । भाइरसको विशेषण भाइरल – यसले मान्छे उचाल्दो पछार्दो छ ।

गुन गर्दा बैगुन मिल्छ । अनि को गुन गर्न तम्सिन्छ र ? कामकाज छैन- कसले एक कप चिया खुवाउला भनेर हुटेल ढुक्यो । आफ्नो तर्फबाट पारिवारिक कर्तव्य गर्नु केही छैन । अर्काको निन्दा गर्ने त कुम्भीपाक नरकमा जानिन्छ । मान्छेको चोला पाएर सत्कर्म पो गर्नुपर्छ । कर्तव्यबोधको अभाव । सिग्रेटमा लागुभागु तान्यो; बिजुली पानी घुट्कायो- छु मतलब । हे , चार्वाकका दर्सन्तान, फेरिने चेष्टा त गर । अमानव छौ, मानव हुने सत्प्रयास गर । हिलोमा कमल त फुल्दो छ तर हिरण्यकशिपुबाट प्रल्हाद जन्मिन सक्ला र ? छोरो बाऊलाई हियाउँदो- कस्तो कुसंस्कार ?! परिवारको अगुवा संस्कारिलो हुँदा अरु सदस्यहरू संस्कारिलो भईहाल्छन् नि । हलेदोको बोटमा अदुवा फल्छ र ?

तथाकथित दलहरूको प्रतिपादित सिद्धान्तसहितको आर्थिक/सामाजिक नीति तथा कार्यक्रम छैन;  आफ्नो स्वार्थ अनुरुपको हचुवा बजेट ( भाषण ) आउँछ ; जनता छक्किदा छन् । मनुवाहरू मेरो कति लाइक आयो भन्छन् । लाइक धेरै आए खुसी नआए बेखुसी । यो कस्तो पारा ?! सत्यको लाइक थोरै । कर्तव्यच्युतले अर्कोलाई कर्तव्यच्युत देख्छ । पिण्डारको मनुवा अल्पबुद्विक कामचोर । स्वार्थमा आँच नआउँदा फाइल नखोल्ने; आँच आउँदा फाइल खोल्ने- प्रतिशोधात्मक घातक प्रवृत्ति ।

गणतन्त्र असफलप्राय हुन खोज्नाले राजावादीहरू सलबलाउँदा छन् । रणबहादुर, राजेन्द्र, सुरेन्द्र र राज्यलक्ष्मीको इतिहास जान्दा हुन् त किन उफ्रिपाफ्रि गर्थे होलान् र ? राजतन्त्रको अत्याचारले गणतन्त्र आएको हो । गणतन्त्रको अत्याचारले नि राजतन्त्र नफिर्ला भन्न सकिन्न है । बस्, यो त कुचक्र (Vicious Cycle) हो ।

सतीसाल झैं ठडिएर आफ्नो मूल्य/मान्यता स्थापना गर्नु छ । अल्प- पठितले आलोचना गर्दैमा आफ्नो पद्धति छोड्नुहुन्न । जिरे खुर्सानी जस्तो कन्फेसन्सले कत्तिलाई पोल्दो होला । पोले पोलोस्- खाँच्चैसिति ।

पापको डर छैन-  भ्रष्टाचारी/ज्यानमाराहरू बढ्दा छन् । परदेशी , भौतिक सुखसुविधाको नाऊँमा आमालाई नबिर्स; भोलि तिम्रो रुने दिन आउँछ- भुटानी शरणार्थी झैं । एक दिन न पाँच दिन मुलुकले कोल्टे फेर्दो हो , आशाको किरण छाउँदो हो । कानुनी राज्यको अवधारणा अनुरूप काम गरे भैहाल्यो नि, किन अर्कोलाई आरोप/प्रत्यारोप गर्नुपरो र ? स्वार्थको ताँदो छिन्नेबित्तिकै सर्वथोक भत्ताभुङ्ग । सरल काम सबैले गर्छन्; जटिल काम पो गर्न सक्नुपरो । शिक्षितले त नयाँ ढंगबाट काम गर्नुपरो नि । अशिक्षितकै ढर्रा अंगाल्ने हो भने किन पढ्नुपरो र ? सन्तोषम् परम सुखम् । सत्यतथ्य विश्लेषण गर्दैन, कान छाम्न छोडेर कौवाको पछि दगुर्छ । यही प्रवृत्ति नै नेपालीको अधोपतनको कारकतत्व हो । आजबाटै असभ्यता त्याग्नपरो ।

ठेलीका ठेली पुराण लेखिन सक्छ । अर्कालाई चिन्नु परोइन , आफैलाई चिनौं । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।