उत्तर कोरियाबाट फोहोर भरिएका थप ६ सय बेलुन दक्षिणतर्फ पठाइयो

उत्तर कोरियाबाट फोहोर भरिएका थप ६ सय बेलुन दक्षिणतर्फ पठाइयो


उत्तर कोरियाले फोहोरले भरिएका करिव ६ सय वटा बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्।

‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

आइतबार बिहान करिब १० बजेसम्म प्रतिघण्टा लगभग बीसदेखि पचासका दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो ।

बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ।