‘नेपाललाई पर्यटकीय हब बनाउन सरकार प्रतिबद्ध छ’

‘नेपाललाई पर्यटकीय हब बनाउन सरकार प्रतिबद्ध छ’


नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उहाँले सो बताउनुभएको हो ।

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उहाँले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको जिकिर गर्नुभयो । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ, प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन्’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताउनुभयो । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उहाँको भनाइ थियो । पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने धारणा राख्नुभयो ।

अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।

photo: rss