सिक्किममा गोलेको मोर्चाले ल्यायो ३१ सिट

सिक्किममा गोलेको मोर्चाले ल्यायो ३१ सिट


  • सुरेन्द्र सुवेदी, काठमाडौं

भारतमा भएको विधानसभा निर्वाचनमा सिक्किम प्रान्तमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले एकलौटी मत ल्याएर भारतलाई नै चकित तुल्याएको छ । ३२ सिट रहेको उक्त प्रान्तमा एसकेएमले ३१ सिट जितेको छ भने भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस पार्टीले एक स्थान पनि जित्न सकेनन् ।

सिक्किममा २५ वर्ष मुख्यमन्त्री भइसकेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्टले जम्मा एक सिटमा चित्त बुझाउनुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एसकेएमका अध्यक्ष प्रेमसिंह तामाङ ‘गोले’ को दलले यसअघिको निर्वाचनमा १७ सिट र चाम्लिङको दलले १५ सिट जितेका थिए । यसपटक भने चाम्लिङको दल नराम्रोसित बढारिएको छ । र, अन्य दलहरुको अस्तित्व नै समाप्त भएको छ । अधिकांस दलले जमानत नै जोगाउन सकेनन् ।

गोले चाम्लिङका विश्वासपात्र थिए । पार्टीमै रहेर काम गर्दैजाँदा उनीहरुको सम्वन्ध बिग्रन थाल्यो । अनि चाम्लिङलाई काउण्टर दिँदै गोलेले ११ वर्षअघि मोर्चाको स्थापना गरे । ११ वर्षमै मोर्चाले निर्वाचनमा सानदार नतीजा ल्याएपछि अहिले गोले भारतीय सञ्चार माध्यममा छाइरहेका छन् ।

भारतमा २८ प्रान्त छन् । यी प्रान्तमध्ये नेपाली भाषीको बाहुल्य रहेको सिक्कम प्रान्त हो । त्यसैले पनि सिक्किममा हुने कृयाकलापहरुमा नेपालीहरुको ध्यान सधैं तानिएको हुन्छ ।