भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’को भारतको सङ्कल्पको विजय भएको बताएका छन् ।

लोकसभा चुनावको नतिजापछि नयाँदिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।’

उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको ६ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे ।

प्रधानमन्त्री मोदीले उडिसामा पहिलो पटक भाजपा सरकार गठन गर्न तयार भएको भन्दै पार्टीको प्रदर्शनको विशेष उल्लेख गरे । राज्यमा लोकसभा चुनावमा पनि भाजपाले राम्रो प्रदर्शन गरेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री मोदीले निर्वाचन आयोगको प्रशंसासमेत गरे ।

‘आयोगले यो चर्को गर्मीमा यति धेरै दक्षताका साथ यति ठूलो निर्वाचन सम्पन्न गरेको छ । हाम्रा सुरक्षा बलहरूले पनि प्रभावकारीरूपमा आफ्नो काम गरेका छन् । प्रत्येक भारतीयलाई भारतको चुनाव प्रक्रिया र प्रणालीको विश्वसनीयतामा गर्व छ’, उनले भनेका छन् ।

पार्टी मुख्यालयमा पुग्दा प्रधानमन्त्री मोदीलाई भाजपा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । केही कार्यकर्ताले ‘जय जगन्नाथ’को नारा पनि लगाएका थिए ।

निर्वाचन आयोगको पछिल्लो प्रवृत्तिअनुसार एनडिएले दुई सय ९१ सिटमा अग्रता लिएको वा जितेको छ भने इन्डिया गठबन्धन दुई सय ३४ सिटमा अगाडि छ वा जित हासिल गरेको छ ।

भाजपाले आफ्नै बलमा २४० सिट जित्ने तयारी गरेको छ ।