चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम


चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार (२२ जेठ) एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।

तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा संचालित उक्त कार्यक्रम सफलतापुर्वक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

यसैबीच, चौधरी फाउन्डेसनले तीनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेखसम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।

यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा मन्तव्य दिँदै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । ‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न र राम्रो आम्दानी आर्जन गर्न सकुन्’, उनले भने ।

विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनी एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तब्यसमेत रहेको चौधरीले बताए । चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्ससँग ४० वर्ष भन्दा बढीको ब्यवसायिक सम्बन्ध रहेको छ ।

समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘यस्ता तालिमले मान्छेमा सीप भर्ने रदेशमै केही गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ’– गिरीले बताए ।