भारतमा नरेन्द्र मोदीले जुन ८ मा तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी

भारतमा नरेन्द्र मोदीले जुन ८ मा तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी शनिबार (८ जुन) का दिन तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

दिल्लीस्थित प्रधानमन्त्री निवासमा बुधबार (२३ जेठ) बसेको भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकमा जनता दल (युनाइटेड)का प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई अहम् महत्वको मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् । भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो ।

एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी थिए ।

बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट)नेता प्रफुल्ल पटेललगायत अन्य एनडीए निकट दलहरूको सहभागिता रहेको बताइएको छ ।

यसैक्रममा केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७औँ लोकसभा विघटन गरेकी छन् । यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए । राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन् ।