कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?


बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब रु. एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।

आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ, जसबापत नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ ।

आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए । ‘काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ’, उनको भनाइ छ ।

सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरुप सहयोगको अपेक्षा गरेको उल्लेख गरे, र भने, ‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’

शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरेका छन् । उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आयोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा सरकारसमक्ष उनले आग्रह गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ । यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका-३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर-मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा संयुक्त रूपमा गर्नुभएको थियो । विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो ।

photo: rss