‘सञ्चारमाध्यममा महिला नेतृत्वका समाचार वृद्धि गरिनुपर्ने’

‘सञ्चारमाध्यममा महिला नेतृत्वका समाचार वृद्धि गरिनुपर्ने’


मिडिया एड्भोकेसी ग्रुप र फ्रेडरिक इबर्ट स्टिफ्टुङले राजधानीमा आयोजना गरेको ‘मिडियामा महिला नेतृत्वको छवि’ विषयक कार्यक्रममा जनप्रतिनिधिलगायतका सहभागीले महिला नेतृत्वले राम्रा काम गरे पनि सञ्चारमाध्यममा पाउनुपर्ने जति स्थान नपाएको बताएका छन् । आम सञ्चारमाध्यममा महिला नेतृत्वका गतिविधिसम्बन्धी समाचार वृद्धि गरिनुपर्नेमा उनीहरुको जोड छ ।

मंगलबार (२९ जेठ) आयोजित कार्यक्रममा सांसद ईश्वरी न्यौपानेले संविधानसभामा विद्यावारिधि गरेका संविधानसभा सदस्यले नबोलीकन कार्यकाल बिताउँदा निरक्षर संविधानसभा सदस्यले राम्रा विषयवस्तु उठाए पनि सञ्चारमाध्यमले प्राथमिकता नदिएको बताउनुभयो । अहिले सामाजिक सञ्जालमा आएका विषयवस्तु पनि मूलधारका सञ्चारमाध्यममा आएका हुन् कि जस्तो गरी भ्रम पर्ने गरेकाले यस विषयमा बहस हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद विद्या भट्टराईले महिलाको प्रतिनिधित्व र सङ्ख्यामा वृद्धि भए पनि त्यसलाई सामाजिक रुपमा स्वीकार गर्न नसकिएको बताउनुभयो । महिलाले मर्यादित भएर राम्रो काम गरे पनि गुमनाम हुने गरेको उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले विश्वका अन्य देशमा भन्दा नेपालको राजनीतिमा महिलाको प्रतिनिधित्व धेरै भएको उल्लेख गर्नुहुँदै सञ्चारमाध्यममा ‘कभरेज’ कम भएकाले वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । महिलाको धेरै प्रतिनिधित्वले नीति निर्माणमा के प्रभाव पार्‍यो भनी अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो ।

‘द काठमाडौँ पोष्ट’ का सम्पादक विश्वास बरालले नेपालको राजनीतिलाई ठूला दलका तीन, चार जना नेताले नियन्त्रणमा राखेकाले निर्णय उनीहरूले चाहेजस्तै हुने र सबै क्षेत्रमा त्यसको प्रभाव पर्दा सञ्चारमाध्यममा पनि प्रभाव परेको हुनसक्ने धारणा राख्नुभयो ।

मिडिया एड्भोकेसी ग्रुपका संस्थापक बबिता बस्नेतले मिडियामा महिला राजनीतिकर्मीका विषय धेरै नआउने गरेकाले टेवा संस्थाको सहयोगमा ६ महिना लगाएर अध्ययन गरेको जानकारी दिनुभयो । अध्ययनपश्चात ब्रोडसीट दैनिक पत्रिकाका सम्पादकसँग छलफल गरेको उहाँले बताउनुभयो । पहिले महिला राजनीतिकर्मीका विषयवस्तु चार प्रतिशत कभरेज हुने गरेकामा अहिले ६ प्रतिशत हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

फ्रेडरिक इबर्ट स्टिफ्टुङका कार्यक्रम अधिकृत पवित्रा रावलले महिला नेतृत्वका समाचार कम हुने गरेको उल्लेख गर्दै आएका विषय पनि यौनसँग जोडेर बढी आउने बताउनुभयो । नेपाल बाहिर महिला नेतृत्वको विषयवस्तु बढी कभरेज गराउन ‘भिजिबिलिटी अफिसर’ को व्यवस्था गरेकाले त्यो अभ्यास सुरु गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रासस