कुवेत : विदेशी कामदार रहेको ६ तले भवनमा आगलागी हुँदा तीन दर्जनबढीको मृत्यु

कुवेत : विदेशी कामदार रहेको ६ तले भवनमा आगलागी हुँदा तीन दर्जनबढीको मृत्यु


कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा आगलागी हुँदा तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफस्थित ६ तले भवनमा आगलागी हुँदा ४३ जना घाइते भएका बताइएको छ । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।

‘दुर्भाग्यवश हामीलाई बुधबार (१२ जुन) बिहान ठिक ६ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो’, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल-ओवाइहानले भनेका छन्, ‘मेरो भवनको पछाडि भएको घटनामा मृत्यु हुनेहरूको सङ्ख्या तीन दर्जनभन्दा बढी छ ।’

तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् । आगलागी भएको भवनमा एक सय ९६ कर्मचारी रहने गरेका बताइएको छ ।

जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँतलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन तर घटनाबाट जीवितहरूसँग भेट्न भारतीय राजदूत अस्पतालमा गएको एएफपीले उल्लेख गरेको छ ।

भारतका विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको भन्दै दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

कुवेतका गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिएका छन् ।

‘हामी कामदारहरूको भीडभाड र उपेक्षाको समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ, आगलागी भएको सम्पत्तिका मालिकलाई कानूनी प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्नेछौँ’, उनको भनाइ छ ।

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो ।

यसअघि सन् २००९ मा आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन एक कुवेती महिलाले विवाह भोजमा टाँगिएको पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल-एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो ।