‘एउटा स्वर्णिम सपना’

‘एउटा स्वर्णिम सपना’


जिन्दगीको हिसाब
गर्दै गरौँला प्रियजन
म भन्छु सपना देख्ने गरौँ
देखेका सपनाहरु
मनले गुनौँ
आकाश छुनलाई
आफ्नै एउटा सपना चुनौँ ।

देखेका सबै सपना
तिम्रो थियो, छ र रहिरहनेछ
सोच, खोज र रोज
र मनको सुन ।

तर
तिमी निदाएको
प्रत्येक पल
सपनामै मग्न मस्त
चन्द्र भन्दा माथि
सुर्य भन्दा पर पर
देख सपनामा
अर्को स्वर्णिम यात्रा ।

झाप्किएको दुई परेली
स्वप्नद्रष्टा तिम्रो चेत
अन्तिम सत्य नहुन सक्छ
तर तिम्रै मनले गुन
सपनामै सुन
त्यही धुन
त्यही राग
पछ्याउँदै सपना
गनिरहनु
गुनिरहनु सपना।

हो,
ब्युझँदा खुलेका परेली
त्यो नेत्रको नानीले
एकछिन है भन्ला
तर नरोकिनु
देखिरहनु सपना
अलिकति आँखा अनिँदो होला
उज्यालो आकाशमा
हराउँदै गरेको ग्रह र तारा
अँध्यारोपछिको उज्यालो हो
र निदाउन र सपना देख्न
भरे फेरि रात पर्छ।

फेरि भन्छु प्रियजन
जोड घटाउ गर्दै गरौँला
तर तिम्रो सपना
कल्पना भन्दा पर होस्
आकास भन्दा माथि माथि
सोच्नु, खोज्नु र चुनेर सपना
उडिरहनु, घुमिरहनु र कुँदिरहनु
ब्रम्हाण्डको चारै दिशा
बोकेर स्वर्णिम सपना ।

  • लस एन्जलस, (संयुक्तराज्य अमेरिका)