पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा


पपुवा न्युगिनीलाई पराजित गर्दै अफगानिस्तान आइसिसी टि-२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकपको सुपर आठमा पुगेको हो ।

पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गऱ्यो । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे भने अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे ।

पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए । एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।