काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी : हायात होटलमा मंगलबार चीनका ३१ विश्वविद्यालयको स्टल रहने

काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी : हायात होटलमा मंगलबार चीनका ३१ विश्वविद्यालयको स्टल रहने


  • सुरेन्द्र सुवेदी, काठमाडौं

आगामी मंगलबार (४ असार) राजधानी काठमाडौंको हायात होटलमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने भएको छ । चीनका ३१ वटा विश्वविद्यालयका परामर्शदाताको स्टल रहने यो प्रदर्शनी एक दिन चल्नेछ । प्रवेश निःशुल्क गरिएको प्रदर्शनीमा हजारौँ नेपाली विद्यार्थी एवम् अभिभावकहरूले अवलोकन गर्ने आयोजक नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले जनाएको छ ।

परिषदद्वारा राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले चीनमा १ सय ६० देशका ५ लाख विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनले भने, ‘चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २ सय वटाभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ, पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ ।’

नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । चीनका महान् भिक्षु महामञ्जुश्री, फास्यान र स्वान चाङको काठमाडौं र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक भ्रमण, नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पेचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले पनि चीन-नेपाल सम्बन्ध निकै प्रगाढ मानिन्छ ।

सन् १९५५ अगस्त १ का दिन दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि परम्परागत सम्बन्ध आधुनिक सम्बन्धमा रूपान्तरण भएको हो । कुटनीतिक सम्बन्ध स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमित रूपमा भइरहेको भ्रमणले आपसी हितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरू अझ व्यापक बनाउने कार्य हुँदै आएको परिषद्ले जनाएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा परिषद्ले शैक्षिक प्रदर्शनीको आयोजना गर्न लागेको हो । प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् ।

यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताइएको छ । प्रदर्शनी असार ४ गते मंगलबार बिहान उद्घाटन गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल चीन मिडिया फोरमका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले नेपालबाट एसइइ उत्तीर्ण गरेपछि गत वर्षमात्र १ लाख ११ हजार ८ सय विद्यार्थी नेपाल छोडेर गएको बताए । उनका अनुसार वर्षेनी नेपालबाट अध्ययनका लागि विदेशमा मात्र खर्बौं रुपैयाँ बाहिरिने गरेको छ । विगत ४ वर्षमा नेपालमा विदेशबाट पढ्न आउने विद्यार्थीको संख्या भने ३ हजार ६ सय ४० मात्र रहेको छ । गत वर्ष चीन सरकारले नेपाल सरकारलाई दिएको छात्तवृत्तिको कोटा (सरकार) ४५ जनामा जम्मा २३ जना विद्यार्थीमात्र पढ्न चीन गएको श्रेष्ठको भनाइ छ ।

सोही अवसरमा चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिनले नेपाल र चीनबीच रहेको प्रगाढ सम्बन्धबारे प्रकाश पार्नुका साथै गत वर्ष प्रधानमन्त्री प्रचण्डबाट गरिएको मित्रराष्ट्र चीनको भ्रमणका क्रममा भएको समझदारीअनुसार एकर्काको सभ्यता र सँस्कृतिबाट सिक्दै शिक्षा, सँस्कृति, लगायत विष्यासम्बद्ध सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन चीन प्रतिबद्ध रहेको उल्लेख गरे । धेरैभन्दा धेरै नेपाली विद्यार्थीलाई चीनमा पढाइको अवसर दिन चीन तयार रहेको उनको भनाइ थियो ।