विश्व बैंकको माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

विश्व बैंकको माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन


विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार (२ असोज) एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ स्वागत र बिदाइ गरेका थिए । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ ।

लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्किएका छन् भने उनको ठाउँमा प्रिति अरोरा आएकी छन् । स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे । नेपालमा मङ्गलबारदेखि सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक (आइडा–२१)को पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको अर्थमन्त्री पुनले बताए ।

विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।

अमेरिकी नागरिक फारिस विसं २०७३ असारमा विश्व बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक रहेका थिए ।

नवनियुक्त देशीय निर्देशक डेभिड अमेरिकी नागरिक हुन् । उनी यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूनिकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए ।

उहाँसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । नवनियुक्त देशीय निर्देशक डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गर्नुभएको छ ।

स्वागत तथा बिदाइ कार्यक्रममा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी हुनुहुन्थ्यो ।

photo: rss