धुलिखेलमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै

धुलिखेलमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै


काभ्रेपलाञ्चोकको धुलिखेलमा छैटौँ इन्डो-नेपाल फ्रेण्डसीप सोतोकान कराते च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल सोतोकान कराते सङ्घको आयोजनामा यही असार ७ र ८ गते धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय कबर्ड हलमा हुने प्रतियोगितामा नेपाल र भारतका ६ सय जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

बनेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा छिमेकी देश भारतका २५ प्रान्तबाट छनौट गरिएका दुई सय ५० र नेपालका ४९ जिल्लाका तीन सय ५० खेलाडीले च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो । सार्क एसियाली र ओलम्पिक जस्ता ठूला खेललाई टेवा पुऱ्याउने तथा खेलाडीमार्फत दुई देशबीच भाइचाराको सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घका प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रतियोगितामा पाँच वर्षदेखि नौ वर्षसम्मका १५ देखि ३५ किलोग्राम (केजी) तौलसम्मका केटा र केटीले अलगअलग तथा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्नेछन् भने १० देखि १२ वर्षसम्मका २५ देखि ५० केजी, १३ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि ४० वर्ष र खुला रूपमा पनि प्रतिस्पर्धा गर्नेछन् । ४० वर्ष माथिले भने व्यक्तिगत काँतालगायतमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता आयोजनाका लागि व्यवस्थापन अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए । सङ्घले पाँचौँ प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजना गरेको थियो ।