उत्तर कोरियाको ‘सबैभन्दा प्यारो मित्र’ भन्दै किमद्वारा पुटिनको प्रशंसा

उत्तर कोरियाको ‘सबैभन्दा प्यारो मित्र’ भन्दै किमद्वारा पुटिनको प्रशंसा


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने बताएका छन् ।

उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउने पश्चिमी मुलुकहरूसँग मस्कोले सम्बन्ध तोडेको छ । मस्कोको युक्रेन आक्रमणको दुई वर्षभन्दा बढी समयमा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका छन् ।

‘आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ, यो अग्रणी दस्तावेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने छ’, पुटिनले भनेका छन् ।

पुटिनले उत्तर कोरियासँग ‘सैन्य-प्राविधिक सहयोग’लाई पनि अस्वीकार गरेनन् र युक्रेनमा मस्कोको काममा समर्थनका लागि उत्तर कोरियालाई धन्यवाद दिए ।

रुसी समाचार एजेन्सीहरूले किमलाई उद्धृत गर्दै सन्धि ‘रक्षात्मक’ भएको बताएका छन् । उनले उत्तर कोरियाको ‘सबैभन्दा प्यारो मित्र’ का रूपमा पुटिनको प्रशंसा गरे ।

रुस अहिले उत्तर कोरियासँगै विश्वमा सबैभन्दा धेरै प्रतिबन्ध भएको मुलुकहरूमा सामेल भएको समयमा पुटिनको भ्रमण भएको छ । पुटिनले लामो समयदेखि मस्को र प्योङयाङ पश्चिमी प्रतिबन्धहरूको ‘दमन’ को विरोध गर्न एकसाथ खडा हुने बताएका छन् ।

‘रुस र कोरियाको स्वतन्त्र विदेश नीति छ र उनीहरू ब्ल्याकमेल तथा तानाशाहीको भाषालाई सहन सक्तैनन्, हामीले राजनीति, अर्थतन्त्र र अन्य क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्ने उद्देश्यका साथ पश्चिमले प्रयोग गर्ने साधनका रूपमा दमनकारी प्रतिबन्ध अभ्यासको विरोधलाई निरन्तरता दिनेछौँ’, पुटिनको भनाइ छ ।

उनले विश्वमा सबैभन्दा दमनकारीमध्येको एक उत्तर कोरिया शासनमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनः जाँच हुनुपर्ने उल्लेख गर्दै भने, ‘उत्तर कोरियाप्रति राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिका र उसका सहयोगीहरूद्वारा प्रेरित अनिश्चितकालीन प्रतिबन्धात्मक शासनको समीक्षा गर्न आवश्यक छ ।’

यसै वर्षको प्रारम्भमा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरूको आधिकारिक राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा आफ्नो भिटो शक्तिको प्रयोग गरेपछि पुटिनको उक्त टिप्पणी आएको हो । उक्त कदम प्योङयाङका लागि ठूलो जित थियो ।

यसैबीच राष्ट्रपति पुटिनले मस्को र प्योङयाङले ‘अमेरिकी आधिपत्य’ विरुद्ध लडिरहेको बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले दुई मुलुकबीचको साझेदारीले एसिया-प्रशान्त क्षेत्रमा ‘शान्ति र स्थायित्व’ लाई अगाडि बढाएको दाबी गरेका छन् ।

पुटिन दुर्लभ राजकीय भ्रमणका क्रममा बुधबार उत्तर कोरियामा थिए । त्यहाँ दुवै नेताले सैन्य, आर्थिक र राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउन ‘व्यापक रणनीतिक साझेदारी’मा हस्ताक्षर गरे । “आज हामी संयुक्त राज्य अमेरिका र उसका उपग्रहरूको आधिपत्यवाद र नव–उपनिवेशवाद अभ्यासविरुद्ध एकसाथ लडिरहेका छौँ”, पुटिनलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

किमले दुई मुलुकबीच हस्ताक्षरित सन्धिलाई भव्य, महान कार्यक्रम भन्दै सन्धिले इमान्दारीपूर्वक एक शताब्दीका लागि कोरियाली-रुसी सम्बन्धलाई प्रत्याभूति दिने बताए ।

‘यसले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पूर्णरूपमा योगदान दिनेछ र दुवै मुलुकको सुरक्षा स्थितिलाई अझ धेरै विश्वसनीय आधारमा स्थापित गर्नेछ’, किमलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

मस्को र प्योङयाङबीच बढ्दो गठबन्धनले दक्षिण कोरियाका साथै पश्चिम र युक्रेनमा चिन्ता उत्पन्न गरेको छ । अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियामाथि युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई गोलाबारुद र क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएका छन् । किएभले युद्धको मैदानमा उत्तर कोरियाली गोलाबारुदको टुक्रा फेला परेको सूचना दिएको छ ।

ज्ञातव्य छ, पुटिनले पछिल्लो पटक २४ वर्षअघि उत्तर कोरियाको भ्रमण गरेका थिए ।