श्री एयरलाइन्स : काठमाडौं-भरतपुर परीक्षण उडान

श्री एयरलाइन्स : काठमाडौं-भरतपुर परीक्षण उडान


श्री एयरलाइन्सले बिहीबार (६ जेठ) काठमाडौं-भरतपुर परीक्षण उडान गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दलका सदस्यहरुलाई स्वागत गरिएको थियो ।

एयरलाइन्सको ड्यासएटक्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरूलाई स्वागत गरेका थिए ।

अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनीको भनाइ छ । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा ४ हजार ७ सय रुपैयाँभन्दा बढी छ ।

यो विमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए । भरतपुरबाट काठमाडौं उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान एयरलायन्सले गरेको छ ।