तीन जातिका पुजारी रहेको खड्गदेवी मन्दिर खुल्ला

तीन जातिका पुजारी रहेको खड्गदेवी मन्दिर खुल्ला


तनहुँस्थित पुरातात्त्विक महत्वको प्राचिन खड्गदेवी मन्दिर सर्वसाधारणलाई दर्शनको लागि बुधबार (५ असार)देखि विधिवत् खुल्ला गरिएको छ । खड्गदेवी मन्दिर सञ्चालक समितिको बैठकले लामो समयदेखि प्रयास गर्दै आएकोमा हाल आएर खुल्ला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताएका छन् ।

६ सय वर्ष भन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक समेत मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारीहरू रहेका छन् ।

भगवान् शिवजीले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार राजाले एक ब्राहृमणीको घरमा छाडेर गइ देवघाटमा पुगेर समाधि लिएको र, यस तरबारले नागको रूप लिइ घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको अनि नागले तरबारको रूप धारण गरी उडेर बन्दिपुर डाँडामा झरेर यस ठाउँमा भगवान् शिवजीको सन्देशस्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किम्बदन्ती छ ।

बन्दीपुरका स्थानीयले इष्ट देवताको रूपमा पुज्दै आएको देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबलरसक्षमरकुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । विशेषगरी सेना, प्रहरी र फलामसम्बन्धी कार्य गर्नेहरूको लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले जानकारी दिए ।

मन्दिर दर्शनको लागि केबलकारचोकदेखि मन्दिरसम्म केबलकारमा सवार भइ सहज ढङ्गले दर्शनार्थीले देवीको दर्शन गर्न पाउनेछन् । बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म मन्दिर खुल्ला रहने मन्दिरका प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिएका छन् ।