पर्यटकबसका कर्मचारीलाई रिफ्लेक्सन ज्याकेट वितरण

पर्यटकबसका कर्मचारीलाई रिफ्लेक्सन ज्याकेट वितरण


पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को टोलील पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताए । पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पुऱ्याउन एशोसियशन लाग्नुपर्नेमा उनले जोड दिए । वरिष्ठ निर्देशक ऐरले काठमाडौंमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी पनि दिए ।

टिवानका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटक बसले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे । टिवानका सल्लाहकार केदारनाथ शर्माले पर्यटक बस चालकले देशको पर्यटकीय गन्तव्यमा दूतका रुपमा काम गरिरहेको बताए ।

टिवानका उपाध्यक्ष भीष्म न्यौपानेका अनुसाार चार दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई टिवानले बस सेवा प्रदान गर्दै आइरहेको छ । हाल काठमाडौंदेखि पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा सेवा प्रदान गरिरहेको छ ।