माङसेबुङका कृषकलाई बोयर जातका उन्नत बाख्रा वितरण

माङसेबुङका कृषकलाई बोयर जातका उन्नत बाख्रा वितरण


इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बोयर जातका उन्नत जातका बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले वडा ४ का ३ वटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र ६ वटा ‘ब्याडे बोका’ वितरण गरेको हो ।

कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ वडाध्यक्ष नवीन लिम्बूले बताए ।

उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् ।

बाख्रापानल प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा ३० लाख रुपैयाँ प्रदेश सरकारबाट प्राप्त भएको थियो भने १० लाख रुपैयाँ ३ वटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।

‘ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ’– वडा अध्यक्ष लिम्बूले भने, ‘यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।’