ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन

ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन


विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा चार सय केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर-मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट चार सय केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको थियो । अब देशभित्रै चार सय केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।