सडकबाट राजदूत कसरी छान्ने ?

सडकबाट राजदूत कसरी छान्ने ?


राजदूत छनोट गर्ने विषय जहिल्यै विवादित बन्ने गरेको छ । विश्वका ३३ वटा मुलुकहरूमा नेपालका राजदूतावास रहेका छन् । तीन वटा अन्तर्राष्ट्रिय नियोगमा नेपालको प्रतिनिधत्व हुँदै आएको छ । साथै सात वटा महाबाणिज्य दूतावास रहेका छन् । जसमा नेपाल सरकारले आफ्नो प्रतितिधि पठाउँदै आएको छ । अहिले कतिपय देशमा राजदूत पठाउने प्रक्रिया चल्दैछ । त्यो विवादित पनि बन्दै आएको देखिन्छ ।

विदेशमा वा देशले खटाएको नियोगमा मुलुकको आधिकारिक सरकारी प्रतिनिधित्व गर्ने राजदूतावासमा रहने प्रमुख व्यक्ति राजदूत हो । राजदूतलाई ‘भेयना कन्भेन्सन अल ल अफ डिप्लोमेटिक रिलेसन’ सन् १९६१ नामको अन्तर्राष्ट्रिय कानुनले निश्चित अधिकार, सुविधा र छुट आदि दिएको छ । संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्य मुुलुकको अधिकार र हैसियत समान तथा बरोबर हुने भए पनि भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रमा जसको बढी प्रभाव रहेको छ यसको बढी शक्ति र अधिकार भएको जस्तो व्यवहारतः देखिन्छ । मुलुकअनुसार राजदूत पठाउने आ-आफ्नै कानुन, प्रचलन र अभ्यास रहेका छन् । राजदूत देशको सरकारी प्रतिनिधिको पद हो । तसर्थ, उसले देश र मुुलुकको सरकारको नीति, निर्देशन, राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन र अभ्यास तथा देशको स्वार्थ एवम् हितमा कार्य गर्दछ, गर्नुपर्दछ । कुशल, सक्षम र योग्य राजदूतले गर्ने कूटनीतिले देशको छवि उच्च हुने सम्भावना हुन्छ । त्यसको विपरित असक्षमबाट कूटनीतिक गिर्ने वा मुुलुकको बृहत् हितमा कार्य नहुने आदि हुन सक्दछ ।

एउटा राजदूतको कूटनीतिक क्षमताको कारण दुई देशबीचको सम्बन्ध सुधार हुने, विदेशमा मुलुक बढी चिनिने र देशको हितका धेरै काम हुने हुन सक्दछ । राजदूतको कार्यशैली, प्रस्तुति तथा आवश्यक सक्रियताले देशको धेरै हित सुनिश्चित हुन सक्ने सम्भावना रहन्छ । अर्काेतर्फ राजदूतका कार्य, गतिविधि, प्रस्तुति र सक्रियता भएन भने देशले पाउनुपर्ने प्रतिफल नपाउने अवस्था हुन्छ । यसर्थ, राजदूतको पदलाई सम्मानित, मर्यादित र उच्च ओहोदाको पद मानिएको हो । यही कारण यस्ता पदमा व्यक्तिको छनोट र प्रस्तावित गर्दा हल्का, खेलाँची र केटाकेटीपना देखाउने र सस्तो प्रचारवाजी गर्ने तरिका गर्नु हुँदैन । जुन तरिका रवि लामिछानेले अपनाए, त्यो विधि सस्तो प्रक्रिया हो ।

विश्वविद्यालयको डिग्री मात्र प्राप्त गरेको मान्छेले प्रतिनिधित्व गर्ने पद राजदूत होइन । कुनै एउटा विषयमा धेरै जानेको मान्छे छान्ने विषय पनि होइन । राजदूत कुनै दौडमा भाग दिएर जो अघि पुग्छ त्यो हुन्छ भने जस्तो गरी छान्ने पद होइन । डिग्री हुनु र देशको सार्थक र अर्थपूर्ण प्रतिनिधित्व गर्न सक्नुमा फरक हुन्छ । तथापि, डिग्री अत्यावश्यक हो, अनिवार्य हो । वास्तवमा भूराजनीति, कूटनीति, देश, समाज र मूलतः मुलुकको समग्र राजनीतिक-संवैधानिक प्रणाली नबुझेको र त्यसको सार्थक अपनत्व, अनुभूति र प्रतिनिधित्व गर्नै नसक्ने मान्छे डिग्री भए पनि राजदूतको लागि सर्वाधिक अयोग्य हो । सडकमा गएर त्यस्ता अयोग्य मान्छेको लाइन लगाइनु बचपनापन हो, अर्थात् केटाकेटीपन र काँचो विधि हो । सस्तो प्रचारवाजी बाहेक त्यो केही होइन ।

राजदूतमा राजनीतिक मान्छे होइन, हुनुहुन्न भन्ने जस्तो सस्तो, बचपना, हल्का र काँचो तर्क पनि गरिन्छन् । केवल जेल परेको, अध्ययन/अनुसन्धान नगरेको, भूराजनीति नबुझेको र पुरानो पार्टीसदस्यमात्र भएको मान्छेचाहिँ अयोग्य हो । सडकमा भनिएजस्तो तर्क गर्दै राजनीतिक मान्छे होइन, हुँदैन भन्ने भनाइ आफैंमा कूटनीतिलाई नबुझ्नेहरूको प्रचारवाजी विचारमात्र हो । वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको आधारभूत तत्व भनेको भूराजनीति हो, राजनीति हो । राजनीतिशास्त्रलाई अलग गरेर कूटनीति बुझ्नै सकिन्न । वास्तविकता यही हो ।

राजदूतको सार्वजनिक आवेदन माग गरेको विषय कतिलाई सही लाग्न सक्ने भए पनि राजनीतिशास्त्र, भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीति, देशको संविधान, शासन व्यवस्था र सरकारको प्राथमिकतालाई अन्यत्र पन्छएर ‘चिफ पपुलारिटी’ फैल्याउने कुराको अर्थ छैन । उसले त्यसरी सडकबाट के, कसरी, कसलाई, कुन आधारमा छान्न सक्दछ ? त्यो हुने कुरा होइन । आखिर अन्तमा उही पुरानै तरिका र विधिमा रविको पार्टी जान्छ । राजदूतको पद के हो ? त्यसको मूल उद्देश्य र अर्थ के हो भन्नेमा रवि र उनको समूहलाई ज्ञान नै नभएको देखियो ।

राजदूत छान्ने देश-देशका आ-आफ्ना संविधान, कानुन र अभ्यास रहेका हुन्छन् । विश्वको शक्तिशाली अमेरिका, बेलायत, भारत आदि मुलुकहरूमा नयाँ दलको सरकार परिवर्तन भएसँगै सरकारले राजदूतहरूको पनि आवश्यकता अनुसार परिवर्तन गर्ने गरेको देखिन्छ । परराष्ट्र मन्त्रालयमा कार्य गर्दै आएका उच्च सरकारी अधिकारी र राजनीतिक क्षेत्र जसमा सार्वजनिक, कूटनीतिक, प्रशासनिक र अन्तर्राष्ट्रिय सबन्धसम्बन्धी क्षेत्रमा कार्य गरेका र विश्वविद्यालका प्राध्यापनहरूको छनोट गर्ने गरिएका देखिन्छन् । नेपालको अभ्यास हेर्दा परराष्ट्र सेवाका उच्च अधिकारी र राजनीतिक क्षेत्रबाट आधा-आधाको संख्यामा नियुक्ति गरिँदै आएको छ । उत्तरी छिमेकी चीनमा उसको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गर्दै आएका र विश्वविद्यालयमा अध्यापनरतहरूलाई राजदूत बनाउने प्रचलन रहेको छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यासविपरीत रविको पार्टीले गरेको तरिका केवल सस्तो प्रचारवाजी हो, जसको कुनै अर्थ छैन ।

नेपालको राजदूत नियुक्तिसम्बन्धी पूर्व अभ्यास हेर्ने हो भने धेरै खालका विवाद, आलोचना र टिप्पणी हुने गरेका छन् । नेपाली काङ्ग्रेसले चलाएका सबैजसो सरकार हुँदामा उसले आफ्ना आसेपासे, भाइभतिजा, नातेदार, चन्दादातादेखि निजी स्वार्थ भएका मान्छेहरूलाई बढी नियुक्ति गऱ्यो भन्ने आरोप लाग्ने गरेको छ । यसमा नेकपा एमाले तुलनात्मकरूपमा परिपक्व र सक्षम देखियो । उसले आफ्नो परराष्ट्र क्षेत्रमा कार्य गरेका, सबन्धित विषयमा विज्ञता हासिल गरेका, देश, शासन, पार्टी र राजनीति बुझेको व्यक्ति नियुक्ति गर्दै आयो । तथापि, एमालेले नियुक्ति गरेका थुप्रै राजदूतका बारेका पटक-पटक प्रश्न पनि उठ्यो ।

देशको प्रतिनिधित्व विदेश वा अन्तर्राष्ट्रिय नियोगमा गर्ने संवेदनशील पद भएकाले राजदूत नियुक्तिसम्बन्धी विषय चर्चा र बहसमा आउने गरेको छ । भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति पढेको, बुझेको, अध्ययन/अनुसन्धान गरेको, देशको संवैधानिक-कानुनी प्रणाली र देशको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक र बदलिँदो आवश्यकता बुझेको, राजनीतिक प्रणाली र लोकतन्त्र बुझेको, लोकतन्त्रप्रति निजी लगाव र व्यक्तिगत अपनत्व भएको मानिस राजदूतको लागि योग्य हो । उल्लिखित विषयको समग्रतामा राजदूतको छनोट र प्रस्तावित गर्नुपर्नेमा हल्का ढंगले सडकमा लगेर ६ दर्जन मान्छेको लर्काे लगाउने कुरा सस्तो प्रचारवाजी हो । यस्ता कर्कतले कूटनीतिलाई सस्तो बनाउने देखिन्छ । देशै नबुझेको, लोकतन्त्रप्रति विश्वास र अपनत्व नै नभएको, भूराजनीति एवम् राजनीति नै नबुझेको केवल कुनै विषयको डिग्री लिएको मान्छे देशको प्रतिनिधित्व गर्ने कूटनीतिक पदको लागि अयोग्य हुन्छ भन्ने कुरा रवि र उनको समूहले बुझेको देखिएन । पार्टीको विदेश विभाग र केन्द्रिय कमिटीको बैठकबाट सम्भावित मान्छेहरूमध्येबाट छान्ने कुराचाहिँ सही नै हुन्थ्यो । सस्तो र हल्का तरिका अपनाएकाले रविको रास्वपाले पार्टीको रूपमा सामान्य आकार ग्रहण गर्न पनि नसकी संस्थागत हुन नसकेको देखिन्छ ।

राजदूत कस्तो पद हो ? किन राजदूत नियुक्ति गरिन्छ ? राजदूतको न्यूनतम मापदण्ड के-के हुन् ? भन्ने कुरा नै रवि र पार्टीलाई जानकारी नभएको प्रस्ट देखियो । राजदूतको विज्ञापन गरेर सडकमा लगेर असरल्ल गर्ने कुराले रविको पार्टीको कूटनीतिक क्षमता नै नभएको प्रस्ट देखियो । कूटनीतिमा रत्नपार्कबाट राजदूत हुने मान्छे छान्ने विषय होइन । प्राइमा फेसी (प्रथम दृष्टिमा) रविको उक्त तरिका र विधि विवादित, हल्का र केटाकेटीपन देखियोे । कुन विधिबाट कसलाई कसरी छान्ने ? केवल विश्वविद्यालयको सर्टिफिकेटलाई मात्र आधार बनाउने हो- केही पनि प्रस्ट भएन । यो सम्भव हुने कुरा होइन । अर्थात्, यसरी सडकमा लगेर राजदूतको छनोट हुनै सक्दैन ।