कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको छ भने ३६१ जना घाइते भएका छन् ।
केन्या राष्ट्रिय मानवअधिकार आयोग (केएनसीएचआर)ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको अल जजिराले जनाएको छ ।
गत जुन १८ देखि यही जुलाई १ सम्मको अवधिबीच ३९ जनाको मृत्यु भएको आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा शान्तिपूर्ण करविरोधी ऱ्याली आयोजना गरिएको भएपनि गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि उक्त प्रदर्शनले घातक हिंसाको रुप लिएको थियो ।
राष्ट्रपति विलियम रुटोले टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको उल्लेख गर्दै उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरेका छन् ।
‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरुको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ’, आयोगले जनाएको छ । प्रदर्शनकारीहरूविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने आयोगको धारणा छ ।
उक्त आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।
राष्ट्रपति रूटोले कर वृद्धि सम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्।
प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया