साहित्य र पत्रकारिताबीचको फरक

साहित्य र पत्रकारिताबीचको फरक


ब्रिटिश कवि तथा समालोचक म्याथु अर्नोल्डले पत्रकारितालाई ‘हतारको साहित्य’ भनेका थिए । सन् १८५० ताका उनले किन त्यसो भने होलान् भनेर सोच्दा यसैकारण होला भन्न सक्ने अवस्था छैन । किनभने, पत्रकारिता र साहित्य दुवैको सम्बन्ध लेखनसँग भएपनि यी दुईबीच निकै भिन्नता छ । विभिन्नताहरू धेरै छन् । पत्रकारिताको सुरुवात अखबारी लेखनबाट भएपनि अहिले यसको दायरा निकै फराकिलो बनिरहेको छ । छापा, विद्युतीय अर्थात् रेडियो, टेलिभिजन र अहिले अनलाइन जसलाई नयाँ मिडिया भन्ने गरिएको छ । मिडियाको विकास यति द्रुत तवरले भइरहेको छ कि अहिले नयाँ भनिएका कुराहरू कुनैपनि बेला पुरानो हुन सक्छन् । प्रविधिको विकाससँगै मिडियाको विविधतामा पनि परिवर्तन भइरहेको छ । तर साहित्यमा त्यस्तो ठुलो परिवर्तन आएको छैन । विगतमा जे-जस्ता साहित्यको रचना हुन्थे, त्यसैगरी अहिलेपनि सिर्जनाहरू पुस्तकका रूपमा प्रकाशित भइरहेका छन् । हिजो अखबार, म्यागेजिन या पुस्तकमा मात्र छापिने रचना अहिले अनलाइनहरूमा प्रकाशित हुन्छन्, कम्युटर या मोबाइलमै इ-बुक पढ्न पाइन्छ- त्यो अलग कुरा भयो, तर मिडियामा जस्तो सिर्जनाको क्षेत्रमा त्यति धेरै फरक परेको छैन । प्रविधि र सामाजिक सञ्जालका कारण सिर्जनाहरू सहजै विश्वब्यापी भने बन्नेगरेका छन् ।

मिडिया र साहित्यको कुरा गर्दा यसको उद्देश्य नै फरक छ । पत्रकारिताको उद्देश्य कुनैपनि कुरामा सर्वसाधारणदेखि नीतिनिर्मातासम्मलाई झक्झक्याउनु, नीति नियम तथा तिनको कार्यान्वयनमा के भइरहेको छ ? हुनुपर्ने के थियो, के भयो ? किन भयो ? किन भएन ? लगायतका कुरामा प्रश्न गर्नु र सार्वजनिक जानकारी दिनु हो । मिडियाले कुनैपनि विषयमा सूचना प्रवाह गर्छ, शिक्षा र मनोरञ्जन दिन्छ । पत्रकारितामा कम्तिमा पाँच ‘क’- कहाँ ? कहिले ? को ? किन ? कसरी ? हुनैपर्छ । पत्रकारिता सत्यतथ्यमा आधारित हुन्छ, पाँच ‘क’ साहित्यमा पनि आवश्यक हुन्छ तर कल्पना गरेर लेख्न पाइन्छ, मिल्छ । साहित्य तथ्यमा आधारित भएपनि हुन्छ तर हुनैपर्छ भन्ने छैन । पत्रकारितामा नाम, थर तलमाथि पर्दा अप्ठ्यारो परिस्थिति आउन सक्छ, साहित्यमा सोची-सोची आफ्नै हिसाबले पात्रको चारित्रिक विशेषताअनुरुप नाम राख्न पाइन्छ । पत्रकारितामा विश्वसनियता, सत्यता लगायतका कुराहरू महत्वपूर्ण हुन्छन् भने साहित्यमा विश्वासै लाग्न गाह्रो हुने कुरा पनि कल्पना गर्न पाइन्छ । तथापि, साहित्यलाई समाजको ऐना मानिने हुँदा आफू र समाजवरिपरि हुने कुरा नै साहित्यमा लिपिवद्ध गरिन्छ ।

पत्रकारितामा ‘इथिक्स अर्थात् संहिताको पालना गर्नुपर्छ भने साहित्यमा के लेख्ने, के नलेख्ने पावन्दी छैन । सिर्जनालाई विश्वमा कतैपनि संहिता लागु गरिएको छैन । कस्तो सिर्जना पस्कने ब्यक्ति आफैमा भर पर्छ । आफ्नो सिर्जनाको उत्तरदायित्व साहित्यकार आफैले लिनु पर्छ, जो निकै महत्वपूर्ण र चुनौतीपूर्ण कार्य हो । आफूले आफैलाई संहितामा बाँधेर पठनीय रचना गर्ने भएकाले साहित्यकारहरूको संसार निकै फराकिलो हुन्छ, छ ।

पत्रकारितामा कसले के लेख्ने, कसको केमा विज्ञता भनेर ‘बिट’ छुट्याइएको हुन्छ । साहित्यमा सर्जकको मन र मष्तिष्कले जे चाह्यो त्यही उसको विषय हो । एउटा पत्रकारले समाचार लेख्दैगर्दा आफूले देखेको कुरा पनि सर्सती लेख्न पाउँदैन, पुष्टिका लागि अरुका भनाइहरू राख्नुपर्छ । तर साहित्यकारले आफ्ना पात्रहरूमार्फत धेरै कुरा भन्न सक्छ, निर्धक्क सन्देश दिन सक्छ । साहित्यमा कलात्मक प्रस्तुतिको महत्व हुन्छ, पत्रकारितामा प्रस्तुति र शैली महत्वपूर्ण भएपनि सूचना र जानकारी ठुलो कुरा हो । पत्रकारले आफ्नो समाचार सुरु गरेपछि सकुञ्जेलसम्म सम्बन्धित विषयमा मात्रै जानकारी राखेपुग्छ । साहित्यकारले आफ्नो सिर्जना सुरु गरेपछि आफैले खडा गरेको पात्रका बारेमा अनेकौँ कोणबाट सोच्नुपर्छ । उसको प्रविृत्ति केलाउनुपर्छ, पात्रलाई जीवन्तरूपमा पाठकसामु राख्नका लागि उ आफै पात्र बनेर पात्रको भूमिकाअनुरुप आफू रुनु, हाँस्नु, अप्ठ्यारो अवस्थाबाट गुज्रनु या सहज परिस्थितिको उपभोग गरेको महसूस गर्नुपर्ने हुन्छ, गर्नसक्छ । एउटा साहित्यकारले सिर्जना सुरु गरेपछि नसकुञ्जेल आफूभित्रको द्वन्द्वबाट गुज्रनु पर्छ । यसो होला कि, त्यसो होला कि, यो पात्रलाई के ख्वाउने, के लाउँदा सुहाउला, कसरी बोल्दा ठिक होला… उसको हाउभाउ, कुराकानी गर्ने शैली सबैमा आफै डुब्नुपर्ने हुन्छ ।

उदाहरणका लागि पङ्क्तिकार आफ्नै अनुभव राख्न चाहन्छ । ‘मन्त्री पत्नीको एक साँझ’ (जो पत्रिका र अनलाइनमा प्रकाशित छ) कथा लेख्दा म केही दिनसम्म साह्रै अप्ठ्यारो परिस्थितिबाट गुज्रिएँ । कथामा मन्त्रीकी पत्नीले आफ्नो विगतका बारेमा केही बोल्नुपर्ने अवस्था ल्याउन मैले कथामा एउटा पार्टीको आयोजना गरेँ । जाडोको महिना भएकाले मन्त्रीनिवासको कम्पाउण्डमा आगो बालिएको थियो, मानिसहरू ‘ड्रिङ्क’मा रमाइरहेका थिए । मन्त्रीपत्नी एक्लै आगो तापेर बसिरहेको बेला उनको हातमा वाइनको ग्लास राखिदिन मलाई निकै सोच्नुपऱ्यो । ग्लास राखिदिउँ अर्कै सन्देश जाला, नराखिदिउँ उनलाई भावुक कसरी बनाउने ? त्यत्तिकै एक्कासी आफ्नो कुरा कसले सेयर गर्छ ? त्यो माहौल र वातावरण बनाउन मलाई निकै गाह्रो भएको थियो । यस्ता परिस्थिति साहित्य सिर्जना गर्दा पटक-पटक महसूस गरेकी छु ताकि समाचार या लेख लेख्दा त्यति धेरै सोच्नै पर्दैन । आफूसँग जे जानकारी छ त्यसैलाई मिलाएर लेख्दा हुन्छ । एउटा पत्रकार र साहित्य सर्जकको रूपमा आफूलाई राखेर हेर्दा पत्रकारिताभन्दा साहित्य सिर्जना मलाई बढी कठिन लाग्छ ।

मानौँ, कुनै ठाउँमा दुर्घटना भयो । एउटा पत्रकारको रूपमा समाचार लेख्दा उक्त घटना स्थलमा पुगेर दुर्घटनामा को पऱ्यो ? के कारणले भयो ? कसरी भयो ? कसले देखे ? दुर्घटना हुनको पछाडि बाह्य पक्षको हात छ कि छैन ? सबै जानकारी लिएर यदि रगतपच्छे भएको रहेछ भने रगताम्य उसको शरीरको बर्णन गर्दै समाचार लेख्नुपर्छ । तर, एउटा साहित्यकारले त्यस्तै प्रकारको दुर्घटनाको दृष्य खडा गर्नका लागि ती सबै कुराको कल्पना गर्दै आफूलाई रगताम्य भएको महसूस गर्नुपर्ने हुन्छ । आफ्नै परिकल्पनाले आफूलाई दुखाउनुपर्ने हुन्छ । पत्रकार शारीरिकरूपले पनि त्यत्तिकै सक्रिय हुनुपर्छ भने साहित्यकारले बसि-बसि कल्पना र कलममार्फत धेरै कुरा लेख्न सक्छ ।

पत्रकारको भौतिक दुःख बढी छ, साहित्यकारको मानसिक र भावनात्मक दुःख धेरै हुन्छ । सुख र खुशीका क्षणमा पनि एउटा साहित्यकारले आफू गदगद् हुँदै अनेकौँ माहौलहरू तय गर्न सक्छ । एक्लै मुस्कुराउन सक्छ, खुलेर हाँस्न र आल्हादित भएको अनूभूति पनि गर्न सक्छ । त्यसैले पनि साहित्यकारलाई मानिसले अलि फरक खालको मान्छेका रूपमा परिभाषित गर्छन् । साहित्य सिर्जना गर्दा समय र आफ्नै कतिपय परिस्थितिको ख्याल नै हुँदैन । आफै कमाउनुपर्ने, ब्यवहारिक कुरा धान्नुपर्ने मानिसहरूलाई साहित्य सिर्जना गर्न त्यति सहज हुँदैन । तर घर-ब्यवहार धान्ने खालको या भनौँ पैसा कमाउने काम गरिएन भने हाम्रो समाजमा आफ्नै परिवारका सदस्यहरूबाट ‘तिमीले के गरेका/गरेकी छौ र ? कथा, कविता या किताबमात्रै लेखेर के हुन्छ ?’ भन्ने अवस्था बन्छ । सिर्जना कति ठुलो कुरा हो भनेर सबैलाई बुझाउन सकिँदैन । त्यसैले कति साहित्यकारहरूले आफ्नै मान्छेबाट अपहेलित जीवन बिताउनुपर्ने परिस्थिति बनिरहेको हुन्छ ।

साहित्यमा प्रभावकारी रचना थोरै लेखेपनि कालजयी हुन सक्छन् तर पत्रकारिता प्रायः आफूले गरुञ्जेलका लागि मात्रै होजस्तो भएको पाइन्छ । विश्वका कुनै समयका चर्चित पत्रकारहरूका नाम लिन गाह्रो छ तर सदियौँअघिका चर्चित साहित्यकारहरूको नाम अमर छ । तिनका कृतिका पुनःसंस्करणहरू पनि प्रकाशित भइरहन्छन् तर पत्रकारितामा त्यस्तो हुँदैन । तथापि, हिजोआज इन्टरनेटका कारणले कसैको जीवनी या लेखन भेट्न सहज भएको छ, तर विश्वमा विगतमा चर्चा कमाएका पत्रकारले के लेखेका थिए भनेर सामाग्री पाउन गाह्रो छ । हामीकहाँ नै हेर्ने हो भनेपनि गुरुप्रसाद मैनालीले जम्मा ११ वटा कथा लेख्नुभयो । वि.सं. २०२६ मा प्रकाशित उहाँको कथा सङ्ग्रह ‘नासो’का अहिले पनि पछिल्ला संस्करणहरू प्रकाशित भइरहेका छन् । करिब उहाँकै पुस्ताबाट पत्रकारिता सुरु गरेका पत्रकारहरूले लेखेका कुराको खासै चर्चा हुँदैन । खोज, अनुसन्धान गर्नेहरूका लागिबाहेक अरुको चासोको विषय पनि बन्दैन ।

एउटा पत्रकारको आँखाले हेर्दा जिन्दगीका सीमितताहरू धेरै छन् । जिन्दगीको मात्र होइन अकाश पनि सीमित छ । रेडियो, टेलिभिजनका फ्रीक्वेन्सीको दृष्टिकोणले हेर्दा अकाश सीमित छ । अहिले नै धेरै रेडियो टेलिभिजन भएका कारण हाम्रो फ्रिक्वेन्सी वितरणमा समस्या आउन सुरु भइसकेको छ । तर एउटा साहित्यकारको दृष्टिमा अकाश असीमित छ । कहाँदेखि कहाँसम्म हेर्ने ? जहाँ गएपनि धर्तीका रूपहरू बरु तराई, हिमाल, पहाडका रूपमा फरक छन् तर अकाश जहाँ पनि छ र, उस्तै छ । अकाशको कुनै सीमा छैन । यसैगरी जिन्दगीलाई कता लाने ? के गर्ने ? कस्तो बनाउने ? मान्छेको मनमा के कुरा खेलाइदिने ? मष्तिष्कमा के कुरा सोच्ने बनाइदिने ? साहित्यकारका लागि आफ्नै हातमा छ, जुन कुरा पत्रकारले कहिल्यै गर्न सक्दैन । त्यस्तो गर्न थाल्यो भने उसले गरेको काम पत्रकारिता हुँदैन ।