ठेउलेखोलाको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

ठेउलेखोलाको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध


अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका-१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका जानकारी दिए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनको भनाइ छ ।

केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुऱ्याएको छ । खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका-२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ ।