मान्छे मार्ने लाइसेन्स !

मान्छे मार्ने लाइसेन्स !


०४२ को अन्त या ०४३ को प्रारम्भ हुनुपर्छ…, चिया ब्यवसायी मोहनलाल अग्रवाल रा.पं.स. चुनाव लडेकाले भद्रपुरका धेरै युवालाई ‘रमाइलो मेला’ थियो त्यो समय ! अग्रवाल त्यस समय धेरैका ‘मामा’ थिए जसको घोडिमा धेरैले ‘हि..हि’ गर्न भ्याए ! टेङ्की फुल गरेर प्रचारमा निस्केका केटा ग्यारेजमा तेल बेचेर साँझ अग्रवाल निवास पुगी दैनिक ज्याला १०० रुपैयाँ थापेर उम्मेद्वारलाई ‘फुल’ बनाउन माहिर थिए !

भरत दाजु पत्रकार ! चुनावी माहोल बुझ्न जिल्ला घुम्नका लागि बाइक लिएर रमेश पौडेललाई ड्राइभर बनाइ हिँड्ने तयारी गर्दैगर्दा गाडीकै ब्यवस्था भएपछि बाइक घरमै छोडियो ! चाबी छोड्ने मेरो निवेदन दाजुले तत्कालै दरपीठ गर्दिनुभो ! बाइकमा पछाडि बसेको सम्मचाहिँ हो, चलाएको हैन, लाइसेन्सको त कुरै भएन ! चाबी दिनु पनि ठिक थिएन । ‘खै खै’ भन्दै अर्काको साइकलबाट हाफ पाइडल हुँदै सिटमै बसेर फुल पाइडलमा पुगेको केटोलाई घरमा फुलटेङ्की बाइक हुनु अनि चाबी नहुनु जस्तो पीडा अरु के हुन्थ्यो होला ?

जहाँ इच्छा त्यहाँ उपाय ! मेरो साइकलदेखि चुरोटहुँदै रक्सीसम्मको गुरु बालसखा कुश पौडेललाई समस्या र रहर बताएपछि उसले उपाय निकाल्यो- त्यससमयको राजदूत बाइक अलि लामो काँटी या डट्पेनको रिफिलले पनि खुल्थ्यो ! काँटी छिराएर कलवलगुरीको चौरीमा तीन-चार फन्का मारेर बिर्तामोड पुगी भद्रपुर फर्किंदा कुशले मलाई ‘कुशल ड्राइभर’ बनाइसकेको थियोे ! ०४५ सालसम्म बिनालाइसेन्स बाइक चलाउँदा पनि ट्राफिकलाई शंकाको मौका दिइएन !

०४५ सालमा लाइसेन्सका लागि फर्म भरियो । उसबेला ‘निजलाई मैले राम्रोसँग बाइक चलाउन सिकाएको छु, कुनै दुर्घटना गरे-गराए जिम्मेवारी लिन्छु’ भनेर सिनियर लाइसेन्स होल्डरले बाचा गर्नुपर्दथ्यो । अहिले जस्तो च्याउसरह ड्राइभिङ्ग सेन्टर नामका दले पसल थिएनन् । किनबेचको चलन खासै थिएन । लिखित परीक्षा दिन बसियो । ‘पुण्य हल्दार’का नामले ख्याति कमाएका सहयोगी मित्र पुण्य ढुंगेलको हल्काफुल्का सहयोगले लिखित पार लाइयो ! स्किडमार्क भनेको के हो ? भन्ने प्रश्नको उत्तरमा अचानक ब्रेक हान्दा टायर र पिच घोटिँदा बन्ने दागलाई स्किडमार्क भनिन्छ भनेर पुण्यजीले सिकाएको कहिल्यै नबिर्सिने पाठ हो मेरो ! आठ पनि लड्दैपड्दै पार लाएर मौखिक दिन कोठामा पसियो ! २० वटा ट्राफिक संकेतमा पास हुनका लागि ८ संकेतको सही जवाफ दिएर ४० ल्याउनुपर्नेमा बस्ने कुर्सीसमेत नदिइ पुलिसले खडेखडे प्रश्न सोध्न थालेपछि ४० त के ४ पनि आउने छाँट देखिएन ! यसैबीच एकले सोधे- ‘तपाईंलाई बिनालाइसेन्स बाइक चलाउँदा के सजाय दिन्छ ?’ पास हुने कुनै चान्स थिएन, मेरो मुखबाट प्याच्च निस्कियो- ‘पैसा खाएर छोड्दिन्छ !’

सबै गलल्ल हाँसे ! एकले कड्किँदै प्रश्न गरे- कसरी ?

मैले काठमाडौंको निकैअघिको घटना सुनाएँ- ‘काठमाडौं गएकोबेला ‘खै खै’ बाइक चलाउँदै गर्दा दरबारमार्गको चोकमा बाइक न्युट्रलमा रोक्नुपर्नेमा न्युट्रल नआएपछि गियरमै राखेर अगाडि बढाउन खोज्दा बाइक बन्द भो ! ट्राफिक आएर लाइसेन्स नभएको थाहा पाएपछि नजिकैको पसलमा लगेर शोकेसमा देखेजति मिठाइ अर्डर गर्दै हसुर्न थाल्यो ! ट्राफिक मिठाइ निल्ने.. म थुक निल्ने ! पसलमा त्यसबेलाको १५० तिरेपछि मलाई हात मिलाएर छोड्दियो !’ मेरो कथा सकिएसँगै ‘जानुस्’ आदेशले लाइसेन्स-सपनाले शहादत प्राप्त गऱ्यो !

बिनालाइसेन्स बाइक चलाउने क्रम चल्दै रह्यो ! त्यसदिन काठमाडौंमा दशा लागेरमात्र हो नत्र झापामा ट्राफिकलाई शंकाको मौका नदिइ कुशलतापुर्वक चलाइयो । बहुदल आएपछि फेरि प्रयत्न गरियो । जनआन्दोलनले सानोतिनो नेताको पहिचान दिइसकेकोले यसपटकचाहिँ कुर्सीसँगै चिसो तन्काउने सौभाग्य पनि पाइयो ! सोधपुछको सामान्य कर्मकाण्डपछि ड्राइभर भइयो ! फाँटमा पुण्यजीले ‘ज्ञानमणिजी गाडीको पनि हाल्दिउँ ?’ भन्दा ‘पर्दैन’ भन्नु किन पनि जरुरी थियो भने त्यससमय बाइक नै ‘खै खै’ गर्नुपर्ने अनि वर्षैपिच्छे नवीकरणबापत लगभग २५० तिर्नु विद्यार्थीका लागि कर्णालीमा तुइन बिस्थापन गरेर पुलको सपना देख्नुजत्तिकै थियोे !

लाइसेन्स प्राप्तिपछिको सचेतना क्लासमा एसपीले भनेको शब्द- ‘यो बाइक चलाउनेमात्र नभएर मान्छे मार्ने समेतको लाइसेन्स हो, तर यसको मतलब मान्छे मार्नु भन्नेचाहिँ होइन ! सतर्कतासाथ चलाउनुहोला ! ६ महिनाको परीक्षण अवधिमा दुर्घटना गरे/गराए लाइसेन्स खारेज हुन्छ । सँगसँगै राम्रोसँग सिकाएको छु भनेर सही गर्ने गुरुसमेतलाई कारवाही हुन्छ !’ पञ्चायतको राप सेलाइनसकेको र बहुदलको राँको सल्कीनसकेको हुनाले होला त्यससमय नियम-कानुन कडै थियो । न्युनतम अनुशासन थियो । अहिले जस्तो ‘नागा नाँचे मैदान’ थिएन !

बाइक लाइसेन्स लिएको करिब तीन दशकपछि झापा आएपछि गाडी बिस्तारै अघिपछि गर्दै सडकमै गाडी कुदाउने भएपछि लाइसेन्स लिने सुर चढ्यो ! छुचुन्द्रे समूहका केही खोरेत सदस्यले कटाक्ष गरे- यो बुढेसकालमा किन ड्राइभर हुनुपऱ्यो ?

काल नआउन्जेल बुढेसकाल लाग्दैन भन्ने लिँडे मान्यता राख्ने मलाई यो छुचुन्द्रे समूहको कटाक्षले कुनै असर गरेन । पहिलो पटक फर्म भरियो ! ट्रायल पऱ्यो ०७९ जेठ ९ गते ! एकहप्ता ट्रायल सेन्टर पुगेर उकाली-ओराली गरेपछि बाहिर बसेर ‘नाथे उकालो पनि काट्न नसक्ने’ भन्दै अरुलाई गिज्याउने आफू आठको गोलाइमै गुल्टुङ्ग खान पुगियो ! केटोले हिम्मत हारेन ! दोश्रो आक्रमण गरियो जेठ २३ मा ! दोस्रोपटक पनि आठमै शहीद भइयो !

मेरो लिँडेपन यतिमै रोकिएन । तेस्रो हमला गरियो ०८० भाद्र ३ मा । यसपटक चाहीँ सजिलै आठ पार गर्दै वरिपरिका मान्छे तर्सिनेगरी एक्सिलेटर च्याप्दै भएपनीउकालो ओरालो यात्रा पनि पार लाइयो र एलब्याक पुगियो । पछाडि हेर्न नपाइने, ऐनामा हेर्दै एलब्याक गर्दा दुई/चार कोन कुच्चाएपछि तेस्रोपटक शहीद उपाधि धारण गर्न पुगियो । केटोले हिम्मत हारेन ! त्यसपछिको १३ भाद्रको चौथो आक्रमण पनि तेस्रोकै शहादत स्थल पुगेर समापन भो ! ज्ञानमणि हुन हिँडेको केटो फेलमणि हुनपुग्यो । चौथोपटक शहीद भएको हल्ला डडेलोझैँ फैलियो । ट्रायल सेन्टर मात्रै नभएर झापादेखि इलामसम्मका ट्राफिकका नजरमा चौथो पटकको शहीद भनेर प्रष्ट चिनिने परिचय पत्र बोकियो ! गाडी चलाउन भने छोडिएन । बाटोमा भेटिने ट्राफिकले हल्का हाँसेर ‘दाइ… सन्चै ?’ भनेको पनि ‘जा ! ज्ञानमणिजीले अपनी जिन्दगी’ भनेझैँ लाग्थ्यो !!

अब सुरुभो दलाल युग- ‘सर ! सिस्टममा छिर्नुस् न ! यत्रो टेन्सन बोक्नै पर्दैन नि !’

झण्डै एक किलोमिटर लामो लेग्रो तान्दै एउटा दलेभाइले उपाय बताए !

यो सिस्टमचाहिँ के हो भाइ ?- मैले अन्जान भएर सोधेँ !

पैसो खर्च गर्नु पऱ्यो नि सर ! कति लोभ गर्नुहुन्छ ? पैसो जोगाएर मात्र हुन्छ त सर ! उनको यस पटकको लेग्रो पनि लामै थियो !

कति खर्च गर्नुपर्ने हो त भाइ ?

रेट ३५ हो ! सरलाई कन्सेसनमा पच्चीस ! २५ तिरेपछि आठ बनाउनुस् कि अठार बनाउनुस् ! उकालोमा लडाएपनि भो ! जति कोन भाँचेपनि घरैमा लाइसेन्स सर ! बुढी औंलो र चोरी औंलो जोडेर नचाउँदै बोले !

मैले जिस्काउने हिसाबले सोधेँ- २५ सय तिर्नुपर्ने हो ?

लामो लेख्ने हाँसो हाँस्दै बोले उनी- ‘हजार सर हजार.. ! सयको जमाना छ र अहिले ? कुन दुनियाँमा हुनुहुन्छ सर ?’

लु भो सोम ! सँगै बसेर जाँड खान्छौ भने ३५ हजारकै ख्वाइदिउँला ! घुसका नाममा त ३५ पैसा पनि दिन्न ! जति वर्ष लागोस् ट्रायल दिएरै निकाल्ने हो लाइसेन्सचाहिँ !!

‘त्यसोभए तपाईंको लाइसेन्स निस्किन्न सर !! मैले दिने भनेको शुभकामना मात्र हो ! शुभकामना छ मेरो !!’ उनले बिट मारे ।

दलेभाइले बेलाबेला ‘निस्क्यो त सर ?’ भन्दै जिस्क्याउनचाहिँ छोडेनन् तर पनि मैले उनको प्रस्ताव स्विकार गरिनँ !

आत्मविश्वास बढ्दै गएपछि पाँचौं पटकका लागि फर्म भरियो र ०८१ जेठ २८ गते ट्रायल परेकोले अघिल्लो दिन एक घन्टा हात बसाएर बिहानै दुर्गा मन्दिर पुगेर तीन फन्का मारेर दुर्गामाताको प्रसाद निधारमा टाँसेर ट्रायल दिँदा पाँचौं पटकमा ड्राइभर भइयो !! दलेभाइले मागेको ‘पच्चीस’जति चाहिँ हात बसाउन ट्रायल सेन्टरलाई र, रि-ट्रायल फर्म भर्न यातायात विभागलाई बुझाइयो होला तर घुस नदिइ लाइसेन्स निकालियो ! सन्तुष्टी यसैमा छ !!

लगभग दुईवर्षे ‘ट्रायलयात्रा’ अवधिमा मैले देखे/भोगेको कुरा- ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपाने विर्तामोड आएपछि ट्राफिक प्रहरीभित्रको द्रब्यमोह र अराजकतामा केही हदसम्म भएपनि लगाम लागेको महसूस भएको छ ! त्यस्तै यातायात ब्यवस्था विभाग लेखिएको बोर्डमा ‘अ’ थप्नुपर्ने अवस्थामा पनि यातायात प्रमुख बाबुराम लुईंटेलको उपस्थितिले थप्नु नपर्ने आशा जगाएको छ ! हुन त सयौँ प्वाल भएको ढोक्सो टाल्न मुस्किल नै हुन्छ तर पनि इमान्दार प्रयत्न भए असम्भव पनि देखिँदैन !

एउटा अर्को सुझाव- हुन त नीतिनियम बनाउन सिंहदरबार घेरेर बसेका सांसद नामक खोरेतग्रस्त संवैधानिक माफियाका कानमा पुगेपनि मस्तिष्कमा नपुग्ला तैपनि खोला किनारमा गीत गाएझैँ गर्दैगर्दा भन्नैपर्ने कुरो यो ट्रायलका नाममा आठदेखि अठारसम्मको नाटक गरेर हलो अड्काएर गोरु चुट्ने धन्धा गर्नुको साटो विदेशजस्तो सोझै सडक ट्रायल लिने ब्यवस्था गर्न सके बेस हुन्थ्यो कि ? या, दलेदाइ/दलेभाइले लेग्रो तान्दै ‘सर ! सिस्टममा आउनुस न ! म पच्चीसमै मिलाइदिन्छु’ भन्दै दलाल पोस्नुभन्दा सरकारले नै पच्चीस/पैंतिस जति लिनुपर्छ लिएर सोझै लाइसेन्स दिने ब्यवस्था गरे कसो हुन्थ्यो होला ?

आखिर अहिलेको अबस्थामा दलेदाइ/दलेभाइ भन्नु र सरकार भन्नु एउटै कुरो त हो नि ! हैन र ??