सुयोग बहुउद्देश्यीय सहकारी संस्था : १ हजार २ सय जनाबाट ४५ करोड ठगी

सुयोग बहुउद्देश्यीय सहकारी संस्था : १ हजार २ सय जनाबाट ४५ करोड ठगी


ललितपुर महानगरपालिका-२० मानभवनमा रहेको सुयोग बहुउदेश्यीय सहकारी संस्थामा जम्मा भएको १ हजार २ सय जनाको ४५ करोड रुपैयाँ हिनामिना भएको छ ।

आकर्षक ब्याजको प्रलोभनमा पारेर ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगिएको उजुरी प्रहरीमा परेपछि थप छानविनका क्रममा सहकारीका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर पुलचोकका ४३ वर्षीय अध्यक्ष सुनिल महर्जन, ललितपुर मंगलबजारकी ६० वर्षीया उपाध्यक्ष मालिका महर्जन र भक्तपुर सूर्यविनायकका ३७ वर्षीय सचिव अर्पण कवा रहेका छन् । प्रहरीका अनुसार यो समूहले सहकारीमा बचत गरेका १ हजार २ सय जनाको ४५ करोड रकम अपचलन गरेका हुन् ।

अध्यक्ष महर्जन २०६५ सालमा नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेका, २०७० सालदेखि हालसम्म सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेका व्यक्ति हुन् । उनी यसअघि बैकिङ कसुर मुद्धामा प्रहरीको खोजीमा रहेका थिए ।

उपाध्यक्ष मालिका २०७६ सालदेखि हालसम्म यो सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिइन् । कवा पनि २०७६ सालदेखि हालसम्म यो संस्थाको सचिव पदमा कार्यरत थिए । उनीहरुलाई प्रहरीले बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो ।