‘जसस कप फुटबल’ आयोजना गर्दै जनसम्पर्क समिति डेनमार्क

‘जसस कप फुटबल’ आयोजना गर्दै जनसम्पर्क समिति डेनमार्क


  • विशेष सम्वाददाता, डेनमार्क

नेपाली कांग्रेसको विदेशस्थित भातृसङ्गठन जनसम्पर्क समिति डेनमार्क (जसस)ले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि जसस कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जानकारी गराएका छन् । यसै जुलाई महिनाको २० र २१ तारिख गरी दुई दिन चल्ने उक्त प्रतियोगिताबाट उठेको रकम नेपाली भाषा स्कुल डेनमार्कलाई सहयोग गर्ने बताइएको छ ।

अघिल्लो महिनामात्र जनसम्पर्क समिति डेनमार्कको नेतृत्व सम्हाल्नुभएका सभापति बुद्धि सापकोटाका अनुसार यस प्रतियोगिता जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको नवौँ प्रतियोगिता हो । यस प्रतियोगितालाई ब्यवस्थित रुपमा संचालन र सम्पन्न गर्नका निमित्त संस्थाका वरिष्ठ उपसभापति प्रकाश ढकाललाई संयोजक तोकेर कार्य सुरु गरिसकिएको र यसै महिनाको १५ तारिखसम्म प्रतियोगी टिमहरुलाई आफ्नो आफ्नो टिम दर्ता गर्नका निमित्त सूचना सम्प्रेषण गरिएको जानकारी दिनुभयो।

उत्तरी युरोपमा अवस्थित मुलुक डेनमार्क पछिल्लो समय नेपालीहरुको रोजगार, ब्यवसायको राम्रो गन्तब्य बन्दै गएको, दक्षिण युरोपियन मुलुकमा लामो समय बसेर आफ्नो ब्यवस्थित बसोबासको कागज बनाइसकेका व्यक्ति तथा परिवारहरु पनि बसाइँसराइ गरेर डेनमार्क आएसँगै यहाँको नेपाली जन घनत्व समेत बढ्दै गएको देखिन्छ ।

नेपालीहरुको जनघनत्व बढ्दै जादा यहाँ विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न फुटबल क्लब बनाएर एक आपसमा फुटबलसमेत खेल्दै आइरहेका छन् । छिमेकी मुलुक भुटानबाट शरणार्थीको रुपमा यहाँ स्थानान्तरण भएका नेपालीभाषी भुटानीहरुले पनि आफ्नो आफ्नो क्लब निर्माण गरेर विविध प्रतियोगितामा भाग लिँदै आइरहेका सभापति सापकोटा बताउनुहुन्छ।

फुटबल प्रतियोगितामा भाग लिन १५०० क्रोनर दर्ता शुल्क तोकिएको छ भने बालबालिकाहरुको हकमा नि:शुल्क खेल्न पाइने भनिएको छ। यसैगरी पुरस्कार सम्बन्धमा प्रथम हुने टिमको लागि ७ हजार ५०० सय क्रोनर, द्वित्तिय हुने टिमको लागि ४ हजारसँगै सबै टिमका खेलाडीको लागि ट्रफी र प्रमाणपत्रको समेत व्यवस्था गरिएको जनाइएको छ ।

प्रतियोगितामा भाग लिने टिमहरु दर्ता प्रक्रियामा रहेको साथै करिव १२ टिमहरुले प्रतियोगितामा भाग लिने सूचना प्राप्त भएको साथै प्रतियोगितामा भाग लिएर शारीरिक र मानसिक स्वास्थ्य आर्जन गर्न सभापति सापकोटाले आह्वान् गर्नुभएको छ।