झापामा सशस्त्र प्रहरीद्वारा बिल विजक नभएका सामान बरामद

झापामा सशस्त्र प्रहरीद्वारा बिल विजक नभएका सामान बरामद


भन्सार छली गरी झापामा भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको बिल विजक नभएका सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिएका छन् ।

एस्पी राईका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ, रु ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया, रु तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ । रु ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, रु ८८ हजार बराबरको मदिरा र रु १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ ।

चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिँदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताए । उनका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधि बरामद गरिएको छ ।

‘सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४/७ नै पैदल गस्ती परिचालन भएको छ’, सप्रउ राईले भनेका छन् ।

सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ । साथै भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।