वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने

वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने


ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीअनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई तीन दिनभित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ ।

साथै, भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत ग्लोबल आइएमई बैंक रहने समझदारी भएको छ ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाएको छ ।

इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिने छ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने सम्बद्ध पक्षले जानकारी दिएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् ।