किर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री : लेबर पार्टीले बेलायतको पुनर्निर्माण गर्ने दाबी

किर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री : लेबर पार्टीले बेलायतको पुनर्निर्माण गर्ने दाबी


किर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गरे र मुलुकको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल कारबाहीको कदम चाल्ने वाचा गरे ।

कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मरले आम निर्वाचनमा भारी जित हासिल गरी बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन् । सरकार गठनका लागि राजा चार्ल्स तृतीयद्वारा गरिएको अनुरोध स्वीकार गर्दै प्रधानमन्त्री बनेका उनले डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूलाई भने, ‘परिवर्तनको काम तुरुन्त सुरु हुन्छ तर हामी बेलायतको पुनर्निमाण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस् ।’

पूर्व मानवअधिकारवादी वकिल एकसठ्ठी वर्षीय स्टार्मरले ऋषि सुनकलाई धन्यवाद दिँदै भने, ‘हाम्रो मुलुकको पहिलो ब्रिटिस-एसियाली प्रधानमन्त्रीका रूपमा उहाँको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन, हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ ।’

स्टार्मर र उनकी श्रीमती भिक्टोरिया बकिङ्घम प्यालेस आइपुग्दा झन्डा फहराउँदै डाउनिङ स्ट्रिटतर्फ उभिएका लेबर समर्थकहरूलाई दुवैले हात मिलाउँदै चुमेका थिए ।

बेलायतीहरू घट्दो सार्वजनिक सेवाहरू, उच्च मूल्य र राजनीतिज्ञहरूका कोरा प्रतिज्ञाहरूबाट थाकेको अवस्थामा स्टार्मरले डरलाग्दो कार्यसूचीको सामना गर्नुपरेको छ । उनले भनेका छन्, ‘सरकारले देश पहिला र पार्टी दोस्रो राख्नेछ ।’ राजनीतिप्रतिको सम्मान पुनःस्थापित गर्ने वाचा पनि उनले गरे । तथापि उनले कुनै पनि मुलुकलाई परिवर्तन गर्न स्विच दबाएजस्तो सजिलो नहुने बउल्लेख गर्दै भने, ‘संसार अहिले धेरै अस्थिर ठाउँ भएको छ, यसमा थोरै समय लाग्नेछ तर रूपान्तरणको काम तुरुन्त सुरु हुनेछ भन्नेमा कुनै शङ्का नगर्नुहोस् ।’