घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री सिड्नीमा पक्राउ

घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री सिड्नीमा पक्राउ


पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले आइतबार समाचारमा उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार शनिबार (जुलाई ६) बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो ।

आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए ।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उनीविरूद्ध वास्तविक शारीरिक क्षति पुऱ्याएको आरोपबारे अनुसन्धान भइरहेको छ ।