नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो


निरन्तरको वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजनाप्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको छ ।

वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ ध्यान दिइएको जानकारी दिँदै उनले भनेका छन्, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।

‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो, पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो’, थापा मगरले भनेका छन् ।

नारायणगढ बुटवल सडकको एकसय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ । विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको छ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ ।

‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ, काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ’, पूर्वी खण्डका योजनाप्रमुख थापा मगरले भनेका छन् । निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको र म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले बताए ।

file photo: rss