तेस्रो युएसएड यात्रा कोहलपुरमा

तेस्रो युएसएड यात्रा कोहलपुरमा


नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको चौथो दिनको यात्रा बाँकेको कोहलपुरमा सम्पन्न भएको छ ।

सोमबार (२४ असार) कोहलपुरमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति दिइयो । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल र लमही हुँदै सोमबार कोहलपुर आइपुगेको हो । यूएसएडका अनुसार मङ्गलबार नेपालगञ्जमा कार्यक्रम आयोजना हुनेछ ।

युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै आठ दशकदेखि रहँदै आएको छ । साथै युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको छ भने करिब ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिइसकेको जनाइएको छ ।

सन् २००० देखि युएसएडले नेपालका विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्बभन्दा बढीको सहयोग प्रदान गरिसकेको छ ।