अभिनयमा फर्किंदै पुराना अभिनेत्री

अभिनयमा फर्किंदै पुराना अभिनेत्री


केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदै छन् । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन् । यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन् ।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदैछिन् अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्दैआएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछिन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

छायाङ्कन गर्न तयार गरिएको ‘सेट’मा फर्किदा महसूस भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै अरुणिमाले भनेकी छन्, ‘अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु, मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।’ अब अभिनयलाई निरन्तरता दिने उनको प्रतिवद्धता छ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन् । ‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्’, अभिनेत्री विपनाले भनिन् ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेकी हुन् । तथापि, अभिनेत्री विपना थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि निरुताले अभिनयलाई निरन्तरता दिन सकेही छैनन् ।

यी अभिनेत्रीहरूले अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । कुनैबेला उनीहरुलाई धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।