भावनात्मक स्वास्थ्य मजबुत बनाऔँ

भावनात्मक स्वास्थ्य मजबुत बनाऔँ


हिजोआज अरुले धोखा दिए भनेर आफूलाई बर्बाद पार्न लागिपर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । संसद् भवनमा रहेर देशका नीतिनिर्माता सांसदहरूको सुरक्षामा खटिएका एक प्रहरी जवानले केही समयअघि आफूले आफैलाई गोली हानेर आत्महत्या गरे । बर्दी लाएर बाहिर अरुको सुरक्षा गरिरहेका उनी आफैभित्र चाहिँ कति धेरै भावनात्मक असुरक्षाबीच बाँचिरहेका रहेछन् भन्ने कुरा उनी मर्नुअघि कसैले अन्दाजै गर्न सकेन ।

शारीरिक स्वास्थ्यका बारेमा सचेत भएपनि हामीकहाँ इमोसनल हेल्थ अर्थात् भावनात्मक स्वास्थ्यका बारेमा खासै वास्ता गरिँदैन । झट्ट हेर्दा मानिस हाँसिरहेको छ, खाइरहेको छ, काम गरिरहेको छ, यसलाई के भएको होला र ? भनेर मतलब गरिँदैन तर भित्रभित्रै मानिसहरू आफैमा उकुसमुकुस भएर बाँचिरहेका छन् । मानिसको भावनामा पहिरो जानुका कारण अनेक हुनसक्छन्, केही समययता आर्थिक अवस्थासँगै श्रीमान्-श्रीमती, प्रेमी-प्रेमिकाबीचको सम्बन्ध प्रमुख कारण बन्ने गरेको छ ।

मानिसहरूसँग भेटघाट गर्ने, कुराकानी गर्ने साधनहरू बढ्दै जाँदा भावनात्मक प्रगाढता भने घट्दै गएको छ । अहिले दुई-चार पटक भेटेको मान्छेले तपाईंसँग ब्यक्तिगत कुरा सेयर गर्ने भनेको प्रायः ‘मलाई केयर गर्ने मान्छे छैन, आफू स्वस्थ हुँदा राम्रो गर्ने प्रेमी/प्रेमिका या श्रीमान्/श्रीमतीले बिरामी भएपछि वास्ता गरेनन् । श्रीमतीलाई जतिबेला पनि फोनमा देख्छु… बोल्यो कि झगडा हुन्छ… कोसँग कुरा गरेको भनेर सोध्नै नहुने… खाना खायौ ? भनेर श्रीमान्ले नसोधेको धेरै भयो… मऱ्यो कि बाँच्यो मतलब नै नराख्ने मान्छे साथमा भए पनि के नभए पनि के…’ यस्तै-यस्तै कुराहरू नै हुन् ।

धेरैजसो मानिसलाई के थाहा छैन भने सबैभन्दा बढी आफूप्रति ‘एफेक्सन’ आवश्यक पर्ने आफ्नै हो र ‘डिजर्भ’ गर्ने पनि आफूनै हो । जब तपाईं आफूले आफैलाई माया र केयर गर्न थाल्नुहुन्छ, अरुले गर्ने केयरले अर्थै नराख्ने त होइन तर धेरै अर्थ भने राख्दैन । मानिसलाई आफ्नो जीवनका पल-पलमा केयर चाहिरहेको हुन्छ, अरु मान्छे कहाँ हुन्छ, कुन अवस्थामा हुन्छ, उ कतिबेला फुर्सद भएर मलाई केयर गरिदेला भनेर बस्नु भनेको न आफूलाई न्याय गर्नु हो न त आफूले अपेक्षा गरेको मानिसलाई नै !

अपेक्षाले मानिसलाई अरुप्रति आश्रित मात्र बनाउँदैन, आफूले चाहेजस्तो नभएपछि भावनात्मक रूपले कमजोर पनि बनाउँछ । मानिस आफैले त आफूले चाहेजस्तो गर्न सकिरहेको हुँदैन, अरुले गरिदिन्छ भन्ने ठान्नु सही होइन । यद्यपि धेरैलाई लागिरहेको हुन्छ, सबै आफैंले गर्ने भए साथमा अर्को मान्छेचाहिँ किन चाहियो त ? भावनात्मक सुरक्षा र कसैको साथ फरक कुरा हुन् । कसैको साथ भएपनि नभएपनि मानिसले आफ्नो भावनालाई आफैले मजबुत बनाउन सक्नुपर्छ । किनभने साथमा रहेको मान्छे कुनैपनि बेला साथमा नरहन सक्छ, यो संसारमै नरहन सक्छ ।

हिजोआज सुखका साथी जताततै भेटिएपनि दुःखमा साथ दिनेहरूको सङ्ख्या घट्दो छ । मानिस प्रायः आफै अनेक समस्यामा रुमल्लिने हुँदा दुःखमा साथ दिनेको सङ्ख्या घट्दै गएको हो । लाउनखान भन्दा कैयौँ गुणा बढी ठुलो भएर सम्बन्धका समस्याहरू बाहिर आउन थालेका छन् । पहिला-पहिला आफ्नै घर परिवार, ओछ्यानमा सीमित घटना सन्दर्भहरू अहिले सामाजिक सञ्जालमार्फत विश्वब्यापी हुन थालेका छन् । पति या पत्नीले दुःख दिए भने कानूनी उपचारका लागि ढोका खुल्ला छ, तर हामीकहाँ कानूनी प्रक्रियाभन्दा पहिला सामाजिक सञ्जालमा गालीगलौज आउने गरेको छ । जुन कुराबाट आफ्नो भावनात्मक विक्षिप्तताबाहेक बाहिर अर्को सन्देश जाँदैन ।

कतिपय अवस्थामा सम्बन्धित मान्छे एकै ठाउँ बसेर कुराकानी गर्दा सकिने खालका समस्या पनि सामाजिक सञ्जालमा छाउन थालेका छन् । जसका कारण मानिसहरूबीच भावनात्मक दूरी त बढेको छ नै मानसिक स्वास्थ्यमा एकपछि अर्को असर पनि पर्ने गरेको छ । आफन्त र निकटवर्तीहरूसँग आँशु बगाउँदै हिँड्दा नजिकका मान्छेहरू पनि पर-पर सर्ने वातावरण बन्छ । हाम्रो समाज हुनेहरूलाई राम्रो गर्ने समाज हो, रुँदै हिँड्नेहरूको भन्दा हाँस्दै हिँड्नेहरूलाई नै साथ दिनेहरूको सङ्ख्या बढी हुन्छ ।

शारीरिकरूपले मानिस अस्वस्थ भयो भने औषधीले ठिक गर्छ तर भावनात्मक स्वास्थ ठिक भएन भने औषधी उपचार या पैसाले त्यसलाई ठिक गर्न सक्दैन । त्यसो भए के गर्ने त ? यदि तपाईंको इमोसनल हेल्थमा असर परिरहेको छ भने त्यसबाट बच्ने सबैभन्दा सहज उपाय मेडिटेशन अर्थात् ध्यान हो । ध्यानले मानिसलाई भित्रैबाट मजबुत बनाउँछ । तर, ध्यान लाग्न सकेन, गर्न सक्नुभएन भने आफ्नो मनमा लागेका कुराहरू लेख्नु अर्को राम्रो उपाय हो । आफूलाई मन लागेको कुरा बोल्दा धेरै कुरा बिग्रन सक्छ । आफ्नो बोलीकै कारण थप भावनात्मक पीडा हुनसक्छ, तर तपाईंले आफ्नो डायरीमा मन लागेका कुरा लेख्दै जानुभयो भने आफूभित्र उकुसमुकस भएका कुराहरू बाहिर आएर आफू हल्का भइन्छ र अरुले आफ्ना कुरा सुन्दैनन् पनि । कालान्तरमा त्यसले पुस्तककोे रूप लिन पनि सक्छ, पुस्तक नबनेपनि बिग्रने केही हुँदैन । आफ्ना कुरा अरुलाई सुनाउनका लागि हामीकहाँ ‘सेफ स्पेस’ छँदैछैनन् भने पनि हुन्छ । सुरक्षित स्थल नभएपछि आफ्ना कुरा जथाभावी सार्वजनिक गर्नुभन्दा लेखेर हल्का हुनु राम्रो हो ।

यदि आफूलाई सेफ स्पेस महसूस हुन्छ भनेचाहिँ आफ्ना कुरा बोलेरै सेयर गर्नु राम्रो । ऐनाअगाडि उभिएर बोल्नु पनि अर्को उपाय हो । कतिपय अवस्थामा आफ्ना कुरा सेयर गर्नलाई मान्छेभन्दा ऐना सुरक्षित हुन्छ । मानिसले अरुसँग भन्दा आफूले आफैसँग बिताउने समय सबैभन्दा राम्रो समय हो, जुन समयमा तपाईंले आफ्नो बारेमा रिफ्लेक्सन गर्ने अवसर पाउनुहुन्छ । हरेक मानिसले आफूले आफैलाई पुनरावलोकन गर्नु एकदमै जरुरी छ । मैले के गरिरहेको छु ? किन गरिरहेको छु ? मेरो ब्यवहारले, मेरो बोलीबचनले कसैलाई असर गरेको छ कि ? के म सही ट्रयाकमा छु ? आफू सही ट्रयाकमा भएको मानिसले मात्रै अरुलाई सही ट्रयाकमा आउ भन्न सक्छ, आफूले आफैलाई माया गर्ने मान्छेले मात्रै अरुलाई माया गर्न सक्छ । जसले आफ्नै केयर गर्दैन उसले अरुले मलाई केयर गरेन भनेर रुँदै हिँड्नु त्यति सही हुँदैन ।

हिजोआज कतिपय मानिसहरू अस्पताल पुग्न पाएको छैन, फोटो खिचेर मलाई यस्तो भो भनेर सामाजिक सञ्जालमा फोटो हाल्छन् । कोही हेर्न गए भने ‘आज फलानाज्यू मलाई भेट्न आउनुभो आभारी छु’ भनेर फेरि अर्को फोटो पोष्ट हुन्छ । यसको अर्थ म बिरामी छु, तिमी पनि मलाई हेर्न आउ भन्नु नै हो । यस्ता कुराले शारीरिक स्वास्थ्यसँगै मानिसलाई भावनात्मक रूपले पनि कमजोर बनाउँछ । आफू बिरामी भएपछि नजिकका मानिसलाई जानकारी दिए भइहाल्यो, सारा संसारको सहानुभूतिले हुने केही होइन । तथापि, मनले गरेको प्रार्थनाले काम गर्छ भन्नेचाहिँ छ । सबै मानिसहरू फेक र देखावटी मात्र छैनन्, आफूले आफ्नो ठानेका र नठानेकाहरूले पनि परेको बेला प्रार्थना गरिरहेका हुनसक्छन् । जिन्दगीका भ्रमहरू टुटाउन दुःखको समय सबैभन्दा राम्रो समय हो ।

तपाईं-हामीमध्ये जो-कोही जति ठुलो र शक्तिशाली पदमा पुगेपनि, जति धेरै नाम कमाएपनि आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनौँ भने सबैभन्दा कमजोर मानिस हौँ । भावनालाई नियन्त्रण गर्न र मानसिकरूपले सवल हुनका लागि प्रत्येक दिन आफूले आफैमा काम गर्नुपर्ने हुन्छ । अरुलाई यस्तो बन्नुपर्छ उस्तो बन्नुपर्छ भनेर उपदेश दिन सजिलो भएपनि आफूले आफैलाई बनाउन भने त्यति सहज छैन । जब मानिसले आफूले आफैलाई राम्रो बनाउन थाल्छ उसलाई अरुको बारेमा नराम्रो सोच्ने फुर्सद र रुचि दुवै हुँदैन । अरुलाई सधैं गालीगलौज गर्ने मान्छेलाई अरुको बारेमा नराम्रो सोच्दैमा फुर्सद हुँदैन अनि आफूलाई राम्रो कहिले बनाउने ? अरुको बारेमा सोच्दासोच्दै हामीमध्ये धेरैले आफ्नो बारेमा सोचिरहेका हुँदैनौँ, जुन हरेक मानिसको जीवनमा निकै महत्वपूर्ण हुन्छ । अरुको बारेमा राम्रो सोच्दै गयो भने जीवनका बाटाहरू आफै सहज हुँदैजान्छन् । हामीलाई प्रायः आफूले जे सोच्छु आफ्नो नजिकको मान्छेले पनि त्यही सोचिदेओस् जस्तो लाग्छ । आफूप्रति मात्रै ध्यान केन्द्रित गरिरहोस् जस्तो लाग्छ । सोच आफैमा नराम्रो नहुन सक्छ तर उ छुट्टै मानिस भएकाले उस्तै सोच्नु सम्भव नै छैन ।

एकार्काबीचको भिन्नतालाई स्वीकार गर्न सकियो भने भावनात्मक स्वास्थ्यलाई सहज बनाउन सकिन्छ । यति हुँदाहुँदै पनि एकार्काको समर्पणको तह मापन भने आफैले गर्ने हो । यदि सँगै हिँडेका बाटाहरू फरक लाग्न थाले भने, एकार्काको साथप्रतिको बुझाइ र सोचहरूमा धेरै ठुलो अन्तर आयो भने सामाजिक सञ्जाल प्रदुषित बनाइ-बनाइ, आफूलाई दुखाइ-दुखाइ सँगै रहन जरुरी हुँदैन । अरुको भावनालाई आफ्नो बसमा पार्न सम्भव छैन, आफ्नै भावनालाई मजबुत बनाऔँ ।

यो पनि हेर्नुहोस् –